घटना

समाजवादी नेतामाथि नाबालिका करणीको आरोप- पीडितले खोलिन् घटनाको रहस्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२२ फागुन, पोखरा । विद्यालयमा यौन हिंसा र गलत मनसायबारे बुझाइरहँदा एक्कासि भक्कानिएकी नाबालिकाले बलात्कारको डरलाग्दो घटना सुनाएकी छन् । गरिबीको फाइदा उठाउँदै आफूमाथि बलात्कार भएको र पटकपटक यौनजन्य हिंसा गरिएको नाबालिकाले खुलाएकी हुन् ।

समाजमा प्रतिष्ठित भनिएकै व्यक्तिहरुबाट कसरी बलात्कारका घटना हुन्छन्, यौनजन्य हिंसा हुन्छ भनेर पोखराको एक विद्यालयको कक्षामा बताइरहँदा नाबालिका भक्कानिएकी थिइन् । कक्षाको अन्तिम लहरमा बसेकी १४ वर्षीय बालिका रुन थालेपछि उनलाई अलग्गै राखेर सोधपुछ गरिएको थियो ।

बिज्ञापन

घटनाको अनुसन्धानका क्रममा फरार रहेका गिरी स्याङ्जामा रहेको पाएपछि कास्की प्रहरीले पक्राउका लागि फागुन १३ गते स्याङ्जा प्रहरीलाई पत्र पठाएको थियो । त्यही पत्रको आधारमा नाबालिकामाथि करणी गरेको अभियोगमा स्याङ्जा प्रहरीले गिरीलाई २० गते पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको छ । गिरीलाई स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ बाटै पक्राउ गरिएको हो ।

जबर्जस्ती करणीको अभियोगमा कास्की प्रहरीले बुधबार ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । किटानी जाहेरी परेर अनुसन्धान थालेपछि गिरीले गत साल फागुनमै नाबालिकामाथि जबर्जस्ती करणी गरेको र त्यसपछि पनि पटकपटक प्रयास गरेको खुलेको हो ।

‘गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं । उनले गत सालदेखि यही फागुनमा पनि करणीको प्रयास गरेको बालिकाले बताएकी छन्,’ कास्की प्रहरी प्रमुख ओलियाले भने, ‘ती बालिकाको आर्थिक अवस्था कमजोर भएका कारण अरुको सहारामा बसेर पढ्ने, आमालाई सघाउने गरिरहेकी रहिछन् ।’

गरिब परिवारकी नाबालिकालाई तत्काल उद्धार गरी अनुसन्धान अगाडि बढाइएको एसपी ओलियाले बताए । गिरीले नाबालिकालाई प्रभाव तथा दबाबमा पारेर करणी गर्ने, घटना लुकाउन दबाब दिने र गरिबीको फाइदा उठाउँदै पटकपटक यौनहिंसा गरेको परिवारको आरोप छ ।

गत साल असोजदेखि आफूमाथि भएको करणी र हिंसा नाबालिकाले लुकाएर राखेकी थिइन् । तर विद्यालयमा बालिकाहरुमाथि कसरी करणी हुन्छ, कसरी घटना लुकाउन खोजिन्छ र करणीपछि कसरी, कहाँ आफ्ना कुरा राख्ने भन्ने विषयमा अभिमुखीकरण गरेपछि बल्ल नाबालिकाले आफूमाथि भएको घटनाबारे मुख खोलेकी हुन् ।

‘ती नाबालिकाले आफूमाथि भएको जघन्य अपराधलाई बाहिर ल्याउने हिम्मत नभएर अहिलेसम्म दबाएरै राखेकी रहिछन् । तर सहजीकरण गरेपछि उनले रुँदै आफ्ना कुरा राखिन् र घटना सार्वजनिक भयो,’ उनलाई संरक्षण गर्नेमध्येका एकले भने, ‘समाजमा यस्ता थुप्रै घटना छन्, जुन अहिलेसम्म धेरै नाबालिकाले बाहिर ल्याउन सकेका छैनन् ।’ उनले यो घटनाले धेरै बालबालिकालाई यौन शिक्षा आवश्यक छ भन्ने देखाएको बताइन् ।

गिरी केही महिना अगाडि मात्र एकीकृत समाजवादी पार्टी स्याङ्जाको अध्यक्ष बनेका थिए भने माघ अन्तिममा मात्र गण्डकीको उपाध्यक्ष बनेका हुन् । उनी लामो समय विदेश बसेर फर्किएका थिए । त्योभन्दा अगाडि उनले त्रिभुवन विश्वविद्यालयमा पनि अध्यापन गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ ।

गिरी परिवारसहित काठमाडौं बस्दै आएका थिए । पोखरामा उनी परिवारका सदस्यका साथ बस्ने गर्थे । त्यही बेला उनले ती नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।