देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत दोहोरो प्रभावले मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ र बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमा रहनुका साथै उत्तर प्रदेशमाथिको न्यूनचापीय प्रणालीले नेपालको मौसमलाई थप प्रभावित पारेको हो ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ। तराईका थोरै स्थानमा पनि वर्षा हुनेछ । विशेषगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाकै सम्भावना रहेको छ । यसैगरी, देशका उच्चपहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
