कञ्चनपुरमा एचआइभी सङ्क्रमण घट्दो क्रममा

कञ्चनपुर । कञ्चनपुरमा एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको छ । चेतनाको विकास र सरकारले गरेको लगानीका कारण कञ्चनपुरमा सङ्क्रमणदर घट्दो क्रममा रहेको जनाइएको छ । विगतमा एचआइभी सङ्क्रमित बढे पनि केही वर्षयता भने कञ्चनपुरमा एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको एचआइभी सङ्क्रमितका पक्षमा काम गर्दै आएका सङ्घ संस्थाले जनाएका छन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कञ्चनुरमा ४५६ जनाले एचआइभीको नियमित औषधी सेवन गरिरहेका छन् । जसमध्ये २२९ महिला, १८६ पुरुष, आठ जना यौनिक अल्पसङ्ख्यक, १५ वर्षमुनिका १२ बालिका र आठ बालक रहेका छन् ।

गत आव २०८०/८१ सम्म २३६ महिला, १९१ पुरुष, नौ यौनिक अल्पसङ्ख्यक, १५ वर्षमुनिका १४ बालिका र आठ बालकमा सङ्क्रमण देखा परेको थियो । सो आवमा २४ महिला र २८ पुरुष गरेर ५२ नयाँ सङ्क्रमित फेला परेका थिए ।
आव २०८१/८२ मा थप २६ जनामा एचआइभीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ । चालु आवको वैशाख महिनासम्म छ महिला, १६ पुरुष, तीन यौनिक अल्पसङ्ख्यक एक बालकमा एचआइभी रोगको सङ्क्रमण देखा परेको छ ।
पछिल्लो समय जिल्लामा एचआइभी सङ्क्रमणदर घट्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमण दर घट्दै गए पनि कञ्चनपुरमा एचआइभी परीक्षण दर भने बढेको एचआइभीसम्बन्धी काम गर्ने संस्था नभासाका सम्पर्क व्यक्ति भीष्मदेव भट्टले बताए । उनका अनुसार विगतमा समाजको अवहेलना, भेदभावको डरले एचआइभी परीक्षण गर्न डराउने, सङ्क्रमितहरू औषधी सेवन गर्न डराउने, खुलेर कुरा गर्न नसक्ने अवस्था रहे पनि अहिले भने सुधार आएको छ ।
एचआइभी सङ्क्रमणबाट गत आवमा दुई महिला र आठ पुरुष गरी १० जनाले ज्यान गुमाएका छन् । हाल महाकाली प्रादेशिक अस्पताल र दोधारा चाँदनी अस्पतालमा एआरटी सेन्टरमार्फत निःशुल्क एचआइभी परीक्षण भइरहेको छ । हाल कञ्चनपुरमा ७० वर्षमाथिका १५ जनाले नियमित रूपमा औषधी सेवन गरिरहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
