एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा. स्वस्तिसहित ४ जनामाथि मुद्दा दर्ता

४ साउन, काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध डिम्ब बेचबिखन गर्दै आएका होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालकसहित कर्मचारीलाई बालबालिका ऐन २०७५ को कसुर अनुसार मुद्दा दर्ता गरिएको छ ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार ५ जनालाई बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरिएको हो ।

सीआईबीका प्रवक्ता युवराज खड्का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई मुद्दा चलाइएको छ ।
१८ वर्ष नपुगेका किशोरीलाई आर्थिक प्रलोभन देखाएर कारोबार गरेको भन्दै सूचना आएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
प्रवक्ता खड्का अनुसार डिम्ब निकालिएका दुई किशोरीमा स्वास्थ्य समस्या आएपछि उनीहरूले नै उजुरी दिएका थिए ।
‘महिनावारी नहुने र अत्याधिक पेट दुख्ने समस्या भएपछि ती किशोरीले उजुरी गरेका थिए,’ खड्काले अनलाइनखबरसँग भने, ‘अनुसन्धानको क्रममा उनीहरूलाई आर्थिक रूपमा फकाएर डिम्ब निकालिएको पाइयो ।’
ती किशोरीकै बयानमा क्रममा आफूहरूलाई १० हजार दिएर डिम्ब निकाल्ने गरेको बताएका थिए । ती किशारीहरू ‘प्लस टु’ मा अध्ययन गरिरहेका विद्यार्थी हुन् ।
‘हामीले अनुसन्धान गरिरहेका छौं । अब अनुसन्धान बढ्दै जाँदा अन्य थप तथ्य पनि खुल्दै जालान्,’ खड्काले भने । यो प्रकण बाहिर आएपछि सीआईबीले अन्य आईभीएफ सेन्टरलाई पनि निगरानीमा राखेको छ ।
सीआईबीको प्रारम्भिक अध्ययनले जस्टिना प्रधान किशोरी उपलब्ध गराइदिने बिचौलिया काम गर्दै आएको खुलेको छ । दुवै किशोरीलाई क्लिनिकसम्म पुर्याइदिने काम भने जस्टिनाले गरेकी थिइन् । यसबापत कमिसन लिने गरेकी थिइन् ।
पीडितहरूले किशोरीले आफूहरूलाई ९ देखि १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको बताएका छन् । पछि डिम्ब विकास भइसकेपछि सानो शल्यक्रियामार्फत निकाल्ने र त्यसलाई प्रिजर्भ गरेर राख्ने गरेको पाइएको छ ।
‘पैसाको लोभमा किशोरीलाई प्रयोग गरिएको देखिन्छ । किनकि क्याम्पस पढ्ने विद्यार्थीलाई फकाउन सहज हुने भएकाले क्लिनिकले एजेन्ट नै राखेर काम गर्दै आएको खुलेको छ,’ खड्का भन्छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
