हनी ट्रयापमा फसाएर १४ लाख बढी असुली गर्ने युवती पक्राउ

काठमाडौं । हनी ट्रयापको माध्यमबाट आर्थिक लाभ लिएको आरोपमा प्रहरीले सुर्खेतबाट एक युवतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले जबरजस्ती रकम असुली (एक्सटर्सन) को आरोपमा २१ वर्षीया शिन्दु चन्दलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर–९ बसोबास गर्दै आएकी चन्दले २०८१ साल भदौ महिनामा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा बोलाएर चिनजानको आधारमा सम्बन्ध बनाएकी थिइन् ।
सम्बन्धपछि चन्दले ‘जबरजस्ती करणीको मुद्दा हालिदिन्छु’ भन्दै कोइरालालाई सामाजिक सञ्जाल तथा मिडियामा निजी तस्बिर सार्वजनिक गर्ने धम्की दिँदै पटक–पटक गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रहरीको भनाइ छ ।
घटनाबारे पीडितबाट जाहेरी प्राप्त भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार चन्दमाथि जबरजस्ती आर्थिक लाभ लिएको कसूरमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको संलग्नता रहेको भए खुल्ने सम्भावनाबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
