तुइनमै चुँडियो नारायणको सन्तानको अनुहार हेर्ने सपना

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ। बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो।
नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना) को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो। श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, “सुत्केरीका लागि लत्ताकपडा, पोसिलो आहार र औषधि किन्न।”

स्वास्थ्यकर्मीले उनको श्रीमती जानकीलाई यही साउन ७ गते सुत्केरी हुने समय दिएको छ। तर, सन्तानको अनुहार हेर्ने र श्रीमतीका लागि सुत्केरी स्याहारका लागि सामान लिएर फर्किने त्यो यात्रा नारायणका लागि अन्तिम बन्न पुग्यो।नारायण बिहानको समयमा गाउँका दुई साथीसहित महाकाली तर्ने तयारीमा थिए। नेपालतर्फबाट खलङ्गा पुग्ने पैदल मार्ग अप्ठ्यारो र समय लाग्दो थियो। त्यसैले धेरैजसोले महाकाली पार गरेर भारततर्फको सजिलो सडक मार्ग रोज्ने गरेका छन् र यो छोटो मार्गको हतारमा हरेक वर्ष स्थानीयको मृत्युवरण गर्नुपरेको छ। महाकाली नदी वारपार गर्ने गर्न झोलुङ्गे पुल नभएपछि स्थानीयवासीले अस्थायी तुइन प्रयोग गरेर यात्रा गर्ने गर्छन्।
यही असार ३१ गते नारायण पनि त्यही तुइन पार गरेर सामान लिन हिँडेका थिए। उनीसँगै गएका जितु पहिले तुइन पार गरे। डोरी खतरनाक रूपमा तन्कियो। उनी तर्दातर्दै डोरी महाकालीको छालतर्फ पुगिसकेको थियो। आधा लुगा भिजेरै भारतपट्टि पुगे जीतु। बल्लतल्ल ज्यान जोगाएर भारत पुगेका जितुले पारि ९भारत० पुगेर गहिरो श्वास फेरे। तर आफूभन्दा पछाडि आउँदै थिए गाउँकै नारायण।
जितुले तुइनमा चढेर वारि भारत आउँदै गरेका नारायणलाई हातको इशारामा नआउन भने तर नारायणले त्यो इशारा देखेनन वा बुझेनन्। चट्टानमा ठोक्किँदै आएको महाकालीको तीव्र वेग र चिच्चाहटले बोलेको सुन्ने सक्ने अवस्था थिएन।
पिठ्यूँमा किनमेल गर्न बोकेको झोला, काँधमा आशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लागे। बीचमा पुग्दा भारततर्फको खम्बा एक्कासि भाँचियो, नारायण सिधै महाकालीमा हेलिन पुगे। बर्खाको उर्लंदो महाकालीको छालले सधैँका लागि महाकालीमा नारायण विलीन भए। “मेरो इशारा मात्रै बुझेको भए नारायण पारि गाउँतर्फ नै रोकिन सक्नुहुन्थ्यो, अकालमै ज्यान जाने थिएन”, आफ्नै आँखाअगाडि सँगैको साथी गुमाउनु पर्दा असह्य पीडा भएको बताउँदै जितुले भने, ‘‘उहाँको घरमा भाउजू र सानो छोराको अवस्था देख्दा साह्रै चिन्ता लागेको छ।’’
नारायणको बाटो पर्खेका श्रीमती जानकी अझै पनि घरको ढोकातिर आँखा गाडेर बसिरहेकी छिन्। परिवारको खुसीका लागि बच्चा जन्मनै लाग्दा श्रीमान्को मृत्युको खबरले उनी भक्कानिएर बोल्नै सक्दिनन्। जन्मिनै लागेका शिशुको अनुहार नदेखीकन नारायण अस्ताए उर्लंदो महाकालीको गर्जनमा । नारायणको यसअघि चार वर्षका एक छोरा छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
