श्रीमतीको हत्या गरेर ५ वर्ष जेल बसे, छुटेपछि प्रेमीकाकी छोरीलाई पनि मारे

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–४मा खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । उनलाई साउन १४ गते राति साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पक्राउ परेका अभियुक्त साहलाई बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अभियुक्त साहले गत साउन १२ गते राति करिव साढे ११ बजे आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी अञ्जलीको उपचारको क्रममा साउन १३ गते राति साढे १२ बजे मृत्यु भएको थियो भने मृतककी आमा आशा यादवको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
राधा यादव उपचार पश्चात घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।
रामबाबुले यसअघि पनि आफ्नी श्रीमतीको हत्या आरोपमा ५ वर्ष जेल सजाय भोगिसकेका छन् । २०७७ मा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए ।
चिनजानपछि उनीहरू जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । तर पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्ध तोड्ने प्रयास गरेपछि रामबाबुले आक्रोशमा आएर घटना घटाएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
