अर्थ

११ करोड १३ लाख मूल्यबराबरको सुनचाँदीका गहनासहित ११ भारतीय नागरिक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जिल्लामा अवैध सुन चाँदीको कारोबारसँगै संलग्नहरुको नियन्त्रणका लागि ‘अपरेशन एल्लो मेटल’ अभियान सञ्चालन गरेको कास्की प्रहरीले एकपछि अर्को सफलता हात पारेको छ । केही दिनअघि एक करोड ३० लाख ४१ हजार रुपैयाँ मूल्य बराबरका अवैध सुनका गरगहनासहित एक नेपाली र एक भारतीय गरी दुईजनालाई पक्राउ गरेको कास्की प्रहरीले शुक्रबार ठूलो मात्रामा सुन र चाँदीका गरगहनासहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  

कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाले शुक्रबार पोखराबाट पक्राउ परेकाहरुबाट ५४९ तोला ४० लाल अर्थात ६.४ किलो अवैध सुन र ४४४ तोला ७३.९ लाल चाँदी बरामद गरेको जानकारी दिएका हुन् । बरामद सुनको शुक्रबारको बजार मूल्यअनुसार कुल ११ करोड आठ लाख ५४ हजार ६३३ रुपैयाँ हुने ओलीयाले जानकारी दिए ।

बिज्ञापन

सुन र चाँदीसँगै पक्राउ परेकाहरूका साथबाट बरामद पाँच लाख १४ हजार ६६५ रुपैयाँ नगद समेत गरी कुल रकम ११ करोड १३ लाख ६९ हजार २९८ रुपैयाँ हुन आउने उनले जानकारी दिए । 

पोखरा महानगरपालिकाका चार वडा ( २, ३, ४ र ९) मा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भई रहेको सूचनाअनुसार ‘अपरेशन एल्लो मेटल’ अभियानअन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयबाट संयुक्त रुपमा १२ टोली खटिइ उनीहरूलाई एकै समयमा पक्राउ गरेको ओलीयाले जानकारी दिए ।

पक्राउ पर्ने सबै भारतका नागरिक रहेका र उनीहरू सबै पोखरामा रहेर सुनचाँदी कालिगडको रुपमा काम गर्दै आएका ओलीयाले जानकारी दिए । पक्राउ पर्नेहरुमा २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका पश्चिम बंगाल, मेद्नापुर घर भई पोखरा–३ बस्ने ४७ वर्षका गोविन्दा दिण्डा, २४ वर्षदेखि कालिगढको काम गर्दै आएका कलकत्ता, पश्चिम मेद्नापुर घर भई पोखरा–२ मोहरीया टोल बस्ने ४४ वर्षका तापस सामन्त, २० वर्षदेखि कालिगढको काम गर्दै आएका पश्चिम बंगाल, कलकत्ता घर भई पोखरा–४ तेर्सापट्टी बस्ने ४७ वर्षका दिपक सामन्त, २० वर्षदेखि कालिगढको काम गर्दै आएका भारत कलकत्ता, हाउडा घर भई पोखरा–९ चिप्लेढुङा बस्ने ३५ वर्षका असित वर, २० वर्षदेखि कालिगढको काम गर्दै आएका कलकत्ता, मेद्नापुर जिल्ला घर भई पोखरा–२ मोहरीया टोल बस्ने वर्ष ४५ का मनिकलाल आदक, १६ वर्षदेखि कालिगडको काम गर्दै आएका महाराष्ट्र, साग्ली जिल्ला घर भई पोखरा–२ मोहरिया टोल बस्ने राजेन्द्र रामचन्द्र जगताप, १५ वर्षदेखि कालिगढको काम गर्दै आएका पश्चिम बंगाल, हुग्ली घर भई पोखरा–१ बिन्दवासिनी बस्दै आएका सन्दिप ढाव, १६ वर्षदेखि डिजाइनको काम गर्दै आएका पश्चिम बंगाल, बाकुला घर भई पोखरा–२ मोहरीया टोल बस्ने सोमनाथ पाल, १२ वर्षदेखि कालिगढको काम गर्ने कलकत्ता, मेद्नापुर घर भई पोखरा–२ भैरवटोल बस्ने उज्वल भोमिक, १२ वर्षदेखि सुनचाँदीको काम गर्ने महाराष्ट्र, पुने घर भई पोखरा–८ सभागृह बस्ने सुनिता पवार, भारत घर भई पोखरा–२ मोहरीया टोल बस्ने ४९ वर्षका प्रोभास माझी रहेका ओलीयाले जानकारी दिए ।

पक्राउ परेका ११ जनामध्ये पथ्थरबाहेकको सुन चाँदीको हिसाब गर्दा सबैभन्दा धेरै गोविन्द दिण्डाबाट सुन २१० तोला ८९ लाल र सबैभन्दा कम सुनिता पवारबाट सुन दुई तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल प्रहरीले बरामद गरेको छ । 

यसैगरी प्रोभास माझीबाट ८८ तोला ३१ लाल सुन र नगद एक लाख ८५ हजार, असित वरबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, दिपक सामन्तबाट सुन ३८ तोला पाँच लाल र चाँदी ३० तोला ११ लाल, तापस सामन्तबाट सुन २४ तोला १५ लाल, सजय ढावबाट सुन १३ तोला ५८ लाल, चाँदी चार तोला २३ लाल, नगद एक लाख ६९ हजार १५५, राजेन्द्र रामचन्द जगतापबाट सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल, नगद एक लाख ६० हजार पाँच सय, मनिकलाल आदकबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल, सन्दिप ढावबाट सुन तीन तोला आठ लाल, सोमनाथ पालबाट सुन १२ तोला १२.७ लाल, चाँदी नौ तोला ५९.४ लाल र उज्वल भोमिकबाट सुन पाँच तोला ४६.९ लाल प्रहरीले बरामद गरेको हो ।

प्रहरीले पक्राउ गरेका उनीहरूलााई बरामद गरेका सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटबल पठाइने ओलीयाले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।