चौधरीलाई बर्खास्त गर्दै संसदीय दलको नेता बनिन् रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्र संसदीय दलको नेतृत्व परिवर्तन भएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छिन् । चौधरीलाई पदबाट हटाएर अध्यक्ष श्रेष्ठले आफैं संसदीय दलको नेतृत्व सम्हालेकी छन् ।
श्रेष्ठले संसद् सचिवालयमा पठाएको पत्रमा गंगाराम चौधरीलाई पार्टी हितविपरीत काम गरेको आरोप लगाइएको छ । पत्रमा उल्लेख अनुसार, चौधरीलाई पार्टीको विधानअनुसार स्पष्टीकरण सोधिएको थियो तर तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको भन्दै उनलाई कारबाही गरिएको उल्लेख छ ।

‘निज मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरिएको’ संसद् सचिवालय पुगेको पत्रमा स्पष्ट गरिएको छ ।
श्रेष्ठले चौधरीलाई हटाएर आफूले संसदीय दलको नेताको भूमिका पनि सम्हाल्ने निर्णय भएको जानकारी संसद् सचिवालयलाई गराएकी छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न आग्रह गर्दै सचिवालयमा पत्र पठाइएको हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
