राजनीति

नाउपा बैठकमा रेशम चौधरीलाई गरिएन निम्तो, विधान संशोधन गर्ने रन्जिताको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी छ । आइतबार अबेरसम्म बैठक चलेपछि सोमबार बिहान ८ बजेदेखि बस्नेगरि पुन बोलाइएको छ । आइतबार पहिलो दिन पार्टीभित्रका आन्तरिक विवादका विषयमा खुलेर छलफल भएको थियो ।

अध्यक्ष रन्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य, संघ–प्रदेशमा निर्वाचित सांसद, गाउँपालिका तथा नगरपालिका निर्वाचित मेयर–उपमेयर तथा अध्यक्ष–उपाध्यक्षलाई बैठकमा बोलाएकी थिइन् । तर, रेशम चौधरीलाई भने बैठकमा निम्तो पठाइएको थिएन ।

बिज्ञापन

‘यो पटकको बैठक अध्यक्षज्यूले विधानअनुसार बोलाउनुभएको हो,’ उनी निकट एक नेताले भने, ‘उहाँ (रेशम चौधरी)लाई हामी जन्मदाता भनेपनि संरक्षक भनेपनि त्यो पद विधानमा छैन । उहाँलाई विधानले चिन्दैन, त्यसैले खबर नगरिएको हो ।’

विधानमा रेशम चौधरीको कुनै भूमिका नरहे पनि बैठकपछि भएका निर्णयबारे उनलाई जानकारी गराइने ती नेताले बताए ।

अध्यक्ष रन्जिता श्रेष्ठले पनि बैठक विधानअनुसार बोलाइएको भन्दै रेशम चौधरीलाई खबर नगरिएको वा तल पारिएको विषय नभएको स्पष्ट पारिन् ।

‘आजको केन्द्रीय कार्यसमिति बैठक हामीले विधान र कानुनी प्रक्रियाअनुसार बोलाएका हौं । यस बैठकमा संरक्षक आदरणीय रेशम चौधरीज्यूको उपस्थिति नभएको विषयमा अनावश्यक भ्रम सिर्जना नगरौँ । उहाँलाई हामीले कुनै पनि किसिमले “तल पारिएको” होइन,’ उनले भनिन्, ‘संस्थागत र कानुनी औपचारिकताअनुसार बैठक सम्पन्न हुन्छ, र बैठकमा भएका निर्णय तथा जानकारीहरू बैठकपछि संरक्षकज्यूलाई आवश्यक सम्मानसहित उपलब्ध गराइनेछ ।’

आफूलाई खबर नभएपछि रेशम चौधरी बैठकमा नआए पनि उनी निकटका सांसद तथा संस्थापक केन्द्रीय सदस्यहरू बैठकमा पुगेका थिए । राष्ट्रिय भेला आयोजना गरेर रन्जिता श्रेष्ठलाई साधारण सदस्यबाटै हटाउने निर्णय गर्ने मध्ये दामोदर पण्डित, योगेन्द्र घिसिङ, आलोक चौधरी, पूर्ण बुढा, विना चौधरीलगायतका केन्द्रीय सदस्य बैठकमा उपस्थित थिए भने रेशम निकट मानिएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी र प्रमुख सचेतक इन्दिरा गिरी पनि बैठकमा सहभागी भए ।

आइतबार पहिलो दिनको बैठकमा रेशम पक्षमा मानिएका सांसद तथा संस्थापक केन्द्रीय सदस्यहरूले धारणा राख्दै पार्टीलाई अझै बलियो र मजबुत बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

रन्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्ने निर्णय गर्ने मध्येका एक दामोदर पण्डितले आफूहरूले कारबाही गरे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि अध्यक्ष स्वीकार गर्नुको विकल्प नरहेको बताए ।

‘हामीले कारबाही गरेका थियौँ । तर, निर्वाचन आयोगले मानेन । अब उहाँलाई नस्वीकारेर हुँदैन,’ उनले बैठकमा भने, ‘आयोगले वैधानिकता दिएको अध्यक्षलाई नै हामीले मान्नुपर्छ ।’

रेशम पक्षका सांसद घनश्याम चौधरीले पार्टीलाई निकास दिन आफू बैठकमा सहभागी भएको भन्दै आगामी दिनमा कुनै विवाद नगरी सबैको साझा धारणा बनाउँदै जानुपर्ने सुझाव दिए ।

संस्थापक केन्द्रीय सदस्यबाट राजीनामा दिएका योगेन्द्र घिसिङ पनि बैठकमा सहभागी थिए । उनले आफूलाई अध्यक्षले सम्मानपूर्वक बोलाएको भन्दै आगामी दिनमा पार्टीमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए । ‘अध्यक्षज्यूसँगै संरक्षकज्यू पनि हुनु भएको भए अझै राम्रो हुने थियो,’ उनले बैठकमा भने ।

रेशम चौधरी बैठकमा नहुनुको कारणबारे लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्म चौधरीले स्पष्ट पारे ।

‘विधानअनुसार बैठक बोलाइएको हो । उहाँले नै बनाउनु भएको विधानले उहाँलाई नै चिन्दैन,’ उनले भने, ‘हामीले बैठकबाट सर्वसम्मत भएका निर्णयहरू उहाँलाई जानकारी गराउँछौँ ।’

सुदूरपश्चिम प्रदेश सांसद खुशीराम चौधरीले रेशम चौधरीप्रति टिप्पणी गरे ।

‘हामीले उहाँलाई सबैभन्दा माथिल्लो स्तरमा राखेका थियौँ । तर, राष्ट्रपतिलाई वडाध्यक्षले चलाउने, सदस्यले चलाउने जस्ता कुरा राम्रो हुँदैन,’ उनले भने ।

२१ जना केन्द्रीय सदस्यमध्ये एक सुनिता चौधरी कारागारमा छिन् । सम्पर्कविहीन मुक्ती थनेतले भने बैठकले गरेका निर्णय स्वीकार गर्ने भन्दै सहमति पत्र पठाएका छन् ।

संस्थापक केन्द्रीय सदस्य भए पनि गंगा चौधरीलाई अध्यक्षले कारबाही गरिसकेकाले सांसदको रुपमा मात्रै पत्र पठाइएको थियो । तर, उनी बैठकमा आएनन् । अरुण चौधरी र लालवीर चौधरी पनि बैठकमा सहभागी भएनन् ।

सुदूरपश्चिमका ७ सांसदमध्ये लक्ष्मणकिशोर चौधरी अस्पतालमा उपचाररत छन् । उनले आफ्नो समर्थन रहेको जनाएका छन् । अर्का सांसद रामेश्वर चौधरीले विमान ढिलो भएको कारण आउन नसकेको सन्देश पठाए । बाँकी पाँच सांसद भने बैठकमा उपस्थित थिए । लुम्बिनीका चार सांसद उपस्थित रहे भने मधेशका एक सांसद बैठकमा सहभागी भएनन् ।

२१ केन्द्रीय सदस्यमध्ये १४ सदस्य बैठकमा उपस्थित भएको सहभागी एक नेताले बताए । सोमबार थप केही संस्थापक केन्द्रीय सदस्य आउने उनको दाबी छ ।

‘अध्यक्षज्यूले सबैलाई सहज हुने गरी विधान संशोधन गरेर निर्वाचन आयोगमा अध्यावधिक गर्न खोजिरहनु भएको छ । आज नआउने साथीहरू भोलि आउनुहुन्छ,’ ती नेताले भने ।

नाउपा प्रवक्ता दामोदर पण्डितले पनि आज समसामयिक विषयमा भएको छलफल सकारात्मक रहेको भन्दै भोलि विधान संशोधनमा छलफल हुने बताए । उनले निर्वाचन आयोगमा नामावली अध्यावधिक गर्न विधान संशोधन आवश्यक रहेको जानकारी दिए ।

‘निर्वाचन आयोगमा अध्यावधिक हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘त्यसका लागि विधान संशोधन आवश्यक छ, जुन हामी भोलि गर्दैछौँ ।’

नाउपामा २०१ जना कार्यसमिति रहने व्यवस्था छ । अहिले २१ जनाको नाम मात्रै निर्वाचन आयोगमा दर्ता छ । अध्यक्ष रन्जिता श्रेष्ठले अन्य केन्द्रीय सदस्यहरूको नाम समेत अध्यावधिक गराउन विधान संशोधन गर्न लागिएको जानकारी दिइन् । भोलि यस विषयमा निर्णय हुने उनको भनाइ छ ।

‘निर्वाचन आयोगमा अध्यावधिक नभएको भन्ने धेरै साथीहरूको गुनासो छ । त्यसका लागि पहिले विधान संशोधन हुनुपर्छ । हामीले विधान संशोधन गरेर निर्वाचन आयोगमा अध्यावधिक गर्ने तयारीमा छौँ,’ उनले भनिन्, ‘पहिलो दिनको बैठक निकै राम्रो भयो । सबै साथीहरूले खुलेर कुरा राख्नुभयो ।’

रेशम पक्ष नआएको भन्दै आइरहेका समाचारप्रति चासो राख्दै उनले भनिन्, ‘अब हाम्रो पार्टीमा यो पक्ष वा त्यो पक्ष भन्ने हुँदैन । अब सबै मिलेर अघि बढ्छौँ । छुटेका केही साथी भोलि आउनुहुन्छ । पार्टी एकताबद्ध भएर अघि बढ्छ ।’

–नेपाल प्रेस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।