स्वास्थ तथा सरसफाइ

जापानिज इन्सेफलाइटिस : ३६ जिल्लामा फैलियो, २३ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१६ भदौ, काठमाडौं । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । ३६ जिल्लाका ११३ जनामा संक्रमित फैलिँदा २३ जनाको ज्यान गएको छ ।

परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।

बिज्ञापन

विगतका वर्षमा जेई संक्रमण देखिए पनि मृत्युदर उच्च थिएन । हाल भने मृत्यु संख्या ह्वात्तै बढेको छ । ‘अघिल्लो वर्षमा संक्रमितमध्ये २९ प्रतिशतको मृत्यु भएको थियो । यस वर्ष पनि उही अनुपातमा मृत्यु भइरहेको छ,’ डा. गौतमले एका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् ।

पछिल्लो तथ्यांकअनुसार जेई ३६ जिल्लामा फैलिसकेको छ । जसमध्ये लुम्बिनीमा ३७, बागमतीमा १८, कोशीमा १७, मधेशमा १४, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णालीमा २ जनामा संक्रमण देखिएको छ ।

बर्दिया, कावासोती, रत्ननगर, कालिका, राप्ती, कपिलवस्तु, माडी, कृष्णनगर, हरिवन, लहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये ६३ महिला र ५० पुरुष छन् ।

२३ जनाको मृत्यु, ४० वर्ष नाघेकालाई बढी असर

महाशाखाको तथ्यांकअनुसार मृत्यु हुने सबैभन्दा बढी लुम्बिनी प्रदेशका छन् । नवलपरासी पश्चिममा २, अर्घाखाँची, रुपन्देही, प्युठान, दाङ, बाँके र बर्दियामा १-१ जनाको मृत्यु भएको छ ।

गण्डकी र बागमतीमा ४-४ जनाको मृत्यु भएको छ । चितवनमा ३, नवलपरासी पूर्वमा ३, सिन्धुली र स्याङ्जा १-१ जनाको संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशीको रौतहटमा २, झापा, मोरङ र तेहथुम १-१ जना र सुदुरपश्चिको कैलालीमा १ जना संक्रमितको मृत्यु भएको छ ।

जेईले सबैभन्दा बढी ४० वर्ष माथिका असर गरेको छ । तथ्यांकअनुसार ४० वर्षभन्दा माथिका १८ जनाको र ३९ वर्ष मुनिका ५ जना संक्रमितको मृत्यु तथ्यांक छ ।

खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्नुले खतराको संकेत गरेको विज्ञ बताउँछन् ।

गौतमका अनुसार जेई संक्रमण नेपालमा अन्य देशभन्दा फरक जोखिम देखिएको छ । सामान्यतया १५ वर्षमुनिका बालबालिकामा बढी देखिने जेई नेपालमा भने पछिल्लो समय ४० वर्षमाथिका मानिसमा मृत्यु र संक्रमण देखिएको छ ।

४० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुनुको कारणबारे डा. गौतम भन्छन्, ‘मृत्यु हुने अधिकांशले खोप लगाएका थिएनन् ।’

भाइरसमै केही प्रकारको परिवर्तन भएको हुनसक्ने उनको आशंका छ । तर त्यसबारे ठ्याक्कै निष्कर्ष भने अहिलेसम्म आइसकेको छैन ।

‘हामी थप अध्ययन गरिरहेका छौं । अन्य रोगहरूसँगको संयोजन (जस्तै स्क्रब टाइफस) को कारणले पनि मृत्युदर बढेको हुनसक्छ,’ डा. गौतमले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।