राजनीति

रुपन्देही-३ उपचुनाव : प्रारम्भिक मतदान राप्रपालाई गलपासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राप्रपाको संसदीय समितिले रुपन्देही–३ मा उम्मेदवार छनोटका लागि प्रारम्भिक मतदान गर्ने निर्णय गरेसँगै पक्ष र विपक्षमा नेता–कार्यकर्ता ध्रुवीकृत भएका छन् । पार्टी विधानले परिकल्पना नगरेको पद्धति बसाल्न लागिएको र क्षेत्रको वस्तुस्थिति ख्याल नगरिएको भन्दै प्रारम्भिक मतदानलाई बहिष्कार गर्ने चेतावनी क्षेत्रका नेताहरूले दिएका छन् ।

१८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय गरेलगत्तै विवाद भएको छ ।

बिज्ञापन

नवीन राप्रपा कार्ययोजनाको मोडलअनुसार आन्तरिक प्रारम्भिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने संसदीय समितिले मंगलबार निर्णय गरेको थियो ।

उम्मेदवार चयनमा नयाँ पद्धति लागु हुने केन्द्रको निर्णयलाई बहिष्कार गर्ने चेतावनी तल्लो तहका समितिले दिएका छन् ।

प्रारम्भिक मतदानबाट उम्मदेवार चयन गर्ने निर्णयविरुद्ध धारणा बनाउन केन्द्र तोकेका प्रतिनिधिसहित बुधबार रूपन्देहीमा बैठक बस्यो । यो पद्धतिमा निर्वाचन क्षेत्रका नेता-कार्यकर्ता असन्तुष्ट रहेपछि संवादका लागि पार्टीले नेता ध्रुवबहादुर प्रधानलाई खटाएको छ ।

प्रधान निर्वाचन परिचालन समितिका संयोजक समेत हुन् । प्रधानले बिहीबार क्षेत्रमा पुगेर छलफल गर्ने भएका छन् ।

लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले संसदीय दलले गरेको निर्णय प्रक्रियामा समेत आपत्ति जनाएका छन् । प्रारम्भिक मतदान वा उम्मेदवार तय गर्ने निर्णय गरेलगत्तै लुम्बिनीका अध्यक्ष उदयलाई पार्टी विधानबारे नेतृत्वलाई जानकारी गराएका छन् ।

संसदीय समितिको बैठक आह्वान गर्दा आफूलाई खबर नगरिएको उदयले अनलाइनखबरलाई बताए ।

राप्रपाको विधानमा ‘सम्बन्धित प्रदेश कार्यसमितिको अध्यक्ष सम्बन्धित प्रदेशभित्र उम्मेदवारको छनोट गर्ने प्रयोजनको लागि पदेन सदस्य हुने’ उल्लेख छ । रुपन्देही-३ को उम्मेदवार छनोट प्रक्रियाबारे निर्णय लिंदा लुम्बिनीका पार्टी अध्यक्ष उदयलाई बोलाइएको थिएन ।

राप्रपाको विधानअनुसार प्रारम्भिक मतदानको व्यवस्था गरिएको छैन । यद्यपि, पार्टीले प्रारम्भिक मतदानको नीति लिने निर्णय गरेको राप्रपाका नेताहरूले जानकारी गराएका छन् ।

प्रारम्भिक मतदानको विधि नभएको अवस्थामा अकस्मात पार्टी निर्णय गर्दा त्यसले क्षति पुग्ने नेताहरूको विश्लेषण छ ।

प्रारम्भिक निर्वाचन गरेर उम्मदेवार छान्न भए सुरुदेखि नै त्यही विधि अवलम्बन गर्नुपर्ने तर्क नेताहरूको छ ।

राप्रपाका एक केन्द्रीय सदस्यले भने, ‘प्रारम्भिक मतदानबाट उम्मदेवार चयन गर्ने भए नाम सिफारिस गर्न भन्न हुँदैनथ्यो । नाम आएर अब टुंगो लगाउने बेलामा प्रारम्भिक मतदान गर्दा त्यहाँका नेता/कार्यकर्ताको मनोविज्ञान कस्तो हुन्छ ?’

राप्रपाबाट उम्मेदवार हुन लागि गौरव बोहरा, प्रज्ज्वल बोहरा, स्वाति थापा, बसन्तविक्रम शाही लगायत ६ जना उम्मेदवारका आकांक्षी छन् । आकांक्षी यी जनाले जसलाई उम्मदेवार बनाए पनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । गौरव, प्रज्ज्वल र स्वाति यसै क्षेत्रबाट निर्वाचित पूर्वसांसद दीपक बोहराका परिवारका सदस्य हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।