घटना

मेरो श्रम र पसिनाले बनाएको घर जल्यो : गभर्नर पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गभर्नर विश्व पौडेलले भावुक स्टाटस लेखेका छन् । आफ्नो जल्दै गरेको घरको भिडियो सार्जनिक गर्दै उनले आफ्नो श्रम र पसिनाले बनाएको घर जलेको उल्लेख गरे। उनले आफूले  योजना आयोगको उपाध्यक्ष हुनुअघि नै  छात्रवृत्ति र देश–विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर भएको बताएका छन् ।

जलिरहेको घर सबैले देखेपछि अरू छलफल गर्न नपर्ने लागेर आफूले भिडियो सेयर गरेको बताए । उनले बन्दै गरेको नयाँ सरकारलाई आफूले कसैसँग दुई  पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गर्न अनुरोध गरे । आफूले गभर्नरको पद कस्तो अवस्थामा लिएको भन्नेबारे सबैलाई थाहा भएको उल्लेख गरे । 

बिज्ञापन

यस्तो छ उनको स्टाटस 

योचाहिँ मेरो भैँसेपाटीको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनुअघि नै  छात्रवृत्ति र देश–विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी नाै वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहीँ बस्थ्यौँ । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरूको पहिलो खेपको कमेन्ट आएको थियो।

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तलामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए। देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओ त्से तुङसम्मका मूर्ति थिए। जम्मा पाँच सय प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहीँ थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहीँ थियो।

अस्ति यो घर जल्नु दुई घण्टाअघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन। पछि भने घरभित्र मानिस गए। बाआमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको एउटा मन्त्रेको खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राति मेरी  छोरी  र श्रीमती नजिकको एउटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथीहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैँ चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिनँ। त्यो दिन हामी सबै  ‘शरणार्थी’ भयौँ। किताब र कपडाहरू धेरै भएकाले ढिलोसम्म नै घर जलिरह्यो। राति पनि केही व्यक्तिले आएर वेलावेलामा ढुंगा हानेर र सामान चोरेर गइराख्थे भनेर छिमेकीहरूले सुनाए। धेरै साथीहरूले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति मभन्दा पनि पीडामा परेका व्यक्तिहरूको बारेमा पढेँ। त्यसैले सबैलाई  सूचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरू छलफल के नै गर्नुपर्ला र।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।