१७ भारतीयसहित साढे तीन सय कैदीबन्दी फर्किएनन्

जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट निस्केकामध्ये ३१६ जना कैदी कारागार फर्किएका छन् । कारागार प्रशासनका अनुसार उनीहरूमध्ये केही आफैँ कारागार तथा प्रहरीमा आएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरेको हो ।
३५१ जना कैदीबन्दी भने सम्पर्कविहीन रहेका कैलाली कारागारका प्रमुख चिरञ्जीवी सापकोटाले बताए । उनका अनुसार त्यसमध्ये १७ जना भारतीय नागरिक हुन् । गत २४ भदौमा आन्दोलनकारी कारागार पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए ।

उक्त दिन कारागारमा ३६७ जना कैदीबन्दी रहेकोमा ३६० जना निस्किएका सापकोटाले बताए । कारागारबाट सुरक्षाकर्मी फर्किएपछि दोस्रो दिन थप ६ जना पनि निस्केर गएका थिए भने कारागारमा एकजना मात्र बसेका थिए । कारागारभित्र आन्दोलनकारी प्रवेश गरेपछि कारागारको सुरक्षामा रहेका प्रहरी फिर्ता भएका थिए ।
‘कारागारबाट निस्केका कैदीबन्दीमध्ये केही आफैँ आए, केहीलाई प्रहरीलाई पक्राउ गरेर ल्यायो,’ कारागार प्रमुख सापकोटाले भने, ‘यहाँबाट गएका ५–६ जना कैदीबन्दी अन्यत्रका कारागारको सम्पर्कमा आएको बुझिएको छ, तर औपचारिक जानकारी आएको छैन ।’ फर्किएकामध्ये धेरैजसो कैदीबन्दी कैद भुक्तान गर्न कम समय रहेकाहरू रहेका बताइएको छ ।
कारागारबाट १८ जना भारतीय कैदीबन्दी भागेका थिए । भारतीय नागरिक एकजना कैदीबन्दी भने कारागार फर्किएका सापकोटाले जानकारी दिए । फरार रहेका १७ जना भारतीयमध्ये अधिकांश लागुऔषध मुद्दाका रहेका कारागार प्रशासनले जनाएको छ । केही भने कर्तव्य ज्यान मुद्दाका पनि रहेका बताइएको छ ।
कैलाली कारागारमा गत २३ साउनको मध्यराति भएको हिंसात्मक घटनामा एकजना कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । उक्त घटनामा घाइते भई सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएका १० जना सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा थिए ।
आन्दोलनका क्रममा फरार उनीहरूमध्ये अब एकजना मात्र आउन बाँकी रहेका कारागार प्रमुख सापकोटाले जानकारी दिए। डिस्चार्ज भएका अन्यलाई विभिन्न जिल्लाका कारागारमा स्थानान्तरण गरिएको थियो ।
कैलाली कारागार प्रशासनले कारागारबाट निस्केर फरार भएका कैदीबन्दीलाई फिर्ता हुन यसअघि नै सूचना जारी गरेको छ । नफर्किएका कैदीबन्दीको खोजी भइरहेको र उनीहरूको विवरण विभिन्न प्रहरी युनिटहरूलाई पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठुलो संख्यामा कैदीबन्दी फरार भएपछि सुरक्षा चुनौती बढेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
