स्वास्थ्य सामग्री खरिद अनियमिततामा मिश्राउपर अख्तियारको छानबिन अन्तिम चरणमा, बन्न लागेको मन्त्री पद जोखिममा

स्वास्थ्य सामग्री खरिदको ठेक्कामा अनियमितता गरेको उजुरीमा डा. संगीता कौशल मिश्रामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ । यही कारण सिफारिस भएको उनको मन्त्री पद जोखिममा परेको छ। मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव हुन् । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य सामग्री खरिद विवादित बनेको थियो। त्यसैको उजुरीमाथि अख्तियारले छानबिन अघि बढाएको थियो ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने गरी अरू चारजनासमेतको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । स्वास्थ्यमन्त्री बन्ने निश्चित भएपछि त्यसको पूर्वसन्ध्याहमा मिश्राले अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । आफू एक नम्बरमा रहेकामा वरिष्ठताक्रम मिचेर सरकारले दोस्रो नम्बरका अर्का अतिरिक्त सचिवलाई सचिव बढुवा गरेपछि मिश्रा रुष्ट थिइन् । उनी ६ महिना हाजिर नै नगरी बसेकी थिइन् ।

मन्त्रीका लागि निश्चित गरेपछि मिश्राले आइतबार अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । राजीनामा मन्त्रिपरिषद्ले आइतबार नै स्वीकृत गरेपछि प्रधानमन्त्री कार्कीले मन्त्रीमा मिश्रालाई सिफारिस गरेकी थिइन्। तर, मन्त्रीमा सिफारिस भएसँगै मिश्राको आलोचना सुरु भएको थियो । उनीविरुद्ध खासगरी ठेक्कामा अनियमितता गरेको आरोप छ । यसैमा केन्द्रित भएर सञ्चारमाध्यमहरूमा समाचारहरू प्रकाशित भएका छन् ।
यसैबिच उनीउपरको उजुरीबारे बुझ्न खोज्दा अख्तियार स्रोतले छानबिन चलिरहेको बतायो । ‘उहाँउपर स्वास्थ्य सामग्री खरिदको उजुरी छ,’ अख्तियार स्रोतले भन्यो, ‘छानबिन अन्तिम चरणमा छ ।’ सार्वजनिक सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारले पनि मिश्राउपर छानबिन चलिरहेको र नियुक्ति नदिन सरकारलाई सुझाएको स्रोत बताउँछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
