घटना

पाँच वर्षमा ३५ हजारले समाप्त गरे आफ्नै ज्यान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी ।   नेपालमा प्रत्येक वर्ष हजारौँले आत्महत्या गर्ने गरेको तथ्याङ्क देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०८०\०८१ मा आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी देखिएपनि ०७७\०७८ देखि यता अन्य वर्षहरूमा ओरालो लागेको देखिन्छ ।

बिज्ञापन

पाँच वर्षको अवधिमा देशभरिमा ३५ हजार दुई सय ३४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष ०८०\०८१ मा पाँच वर्षकै उच्च सात हजार दुई सय १९ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष ०८१\०८२ मा आत्महत्या गर्नेको सङ्ख्या ६ हजार आठ सय ६६ रहेको छ । यो सङ्ख्या पाँच वर्षको अवधिको सबैभन्दा कम सङ्ख्या हो ।

आर्थिक वर्ष ०७७\०७८ मा सात हजार एक सय ४१ जनाले आत्महत्या गरेका थिए । यस्तै, ०७८\०७९ मा सात हजार १५ र ०७९\०८० मा ६ हजार नौ सय ९३ ले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यस अवधिमा कोशी प्रदेशमा सबैभन्दा बढी सात हजार पाँच सय ९४ जनाले आत्महत्या गरेका छन् । यस प्रदेशमा आर्थिक वर्ष ०७७\०७८ मा एक हजार पाँच एक सय १८ जनाले आत्महत्या गरेका थिए । यस्तै, ०७८\०७९ मा एक हजार पाँच सय १६, ०७९\०८० मा एक हजार पाँच सय ५०, ०८०\०८१ मा एक हजार पाँच सय ५८ र गत आर्थिक वर्षमा एक हजार चार सय ५२ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्याका घटनाहरू धेरै हुनेमा लुम्बिनी प्रदेश दोस्रो स्थानमा देखिएको छ । पाँच वर्षको अवधिमा यस प्रदेशमा ६ हजार ६ सय १३ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७७\०७८ मा एक हजार तीन सय ८३, ०७८\०७९ मा एक हजार तीन सय ४५, ०७९\०८० मा एक हजार दुई सय ७५, ०८०\०८१ मा एक हजार तीन सय दुई र गत वर्षमा एक हजार तीन सय आठ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेको सङ्ख्याका हिसाबले मधेश प्रदेश तेस्रो स्थानमा देखिन्छ । यस प्रदेशमा पाँच वर्षको अवधिमा पाँच हजार ६ सय ७२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७७\०७८ मा नौ सय ५९, ०७८\०७९ मा एक हजार ३७, ०७९\०८० मा एक हजार एक सय २१, ०८०\०८१ मा एक हजार दुई सय ९४ र गत आर्थिक वर्षमा एक हजार दुई सय ६१ जनाले आत्महत्या गरेका छन् ।

बागमती प्रदेशमा आर्थिक वर्ष ०७७\०७८ मा एक हजार ३२, ०७८\०७९ मा नौ सय २१, ०७९\०८० मा नौ सय ३७, ०८०\०८१ मा नौ सय ६९ र गत आर्थिक वर्षमा आठ सय २७ जनाले आत्महत्या गरेका छन् । पाँच वर्षको अवधिमा यस प्रदेशमा आत्महत्या गर्नेको सङ्ख्या चार हजार ६ सय ८६ रहेको प्रहरीले दिएको तथ्याङ्कमा उल्लेख छ । उपत्यकाका तीन जिल्लामा भएका आत्महत्याको सङ्ख्या यस तथ्याङ्कमा समावेश छैन । प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्लाहरूको अपराधको विवरण छुट्टै राख्ने गरेको छ । जस अनुसार पाँच वर्षको अवधिमा उपत्यकामा मात्रै दुई हजार सात सय नौ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा आर्थिक वर्ष ०७७\०७८ मा पाँच सय ५२, ०७८\०७९ मा पाँच सय ६१, ०७९\०८० मा पाँच सय ५८, ०८०\०८१ मा पाँच सय ३३ र गत आर्थिक वर्षमा पाँच सय पाँच जनाले आत्महत्या गरेका छन् ।

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ६ सय ३१ जनाले आत्महत्या गरे । यस प्रदेशमा आर्थिक वर्ष ०७७\०७८ मा ६ सय ४४, ०७८÷०७९ मा सात सय १८, ०७९\०८० मा सात सय २२ र ०८०\०८१ मा ६ सय ५५ जनाले आत्महत्या गरेका छन् । यस प्रदेशमा आत्महत्या गर्नेको कुल सङ्ख्या तीन हजार तीन सय ७० रहेको छ । सुदूरपश्चिममा पाँच वर्षको अवधिमा आत्महत्या गर्नेको सङ्ख्या तीन हजार १७ रहेको छ ।

यस प्रदेशमा आर्थिक वर्ष ०७७\०७८ मा ६ सय ८८, ०७८\०७९ मा ६ सय १२, ०७९\०८० मा पाँच सय ५६, ०८०\०८१ मा पाँच सय ८२ र गत आर्थिक वर्षमा पाँच सय ७९ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेको सङ्ख्याका हिसाबले सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ । यस प्रदेशमा आर्थिक वर्ष ०७७\०७८ मा तीन सय ६५, ०७८\०७९ मा तीन सय पाँच, ०७९\०८० मा दुई सय ७४, ०८०\०८१ मा तीन सय २४ र गत आर्थिक वर्षमा तीन सय तीन जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरू वयस्कमा पुरुष बढी, कम उमेरका महिला बढी
प्रहरीले दिएको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा पुरुषहरू बढी रहेका छन् । पाँच वर्षको अवधिमा आत्महत्या गर्ने कुल सङ्ख्याको ५९ प्रतिशत अर्थात् २० हजार आठ सय २५ पुरुष रहेका छन् । यस अवधिमा आत्महत्या गर्ने महिलाको सङ्ख्या १४ हजार चार सय नौ रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
वयस्क उमेरमा आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या बढी देखिएपनि आत्महत्या गर्ने १८ वर्षमुनिका उमेर समूहमा भने महिलाको सङ्ख्या बढी रहेको तथ्याङ्कले देखाउँछ ।

पाँच वर्षको अवधिमा आत्महत्या गर्नेमध्ये तीन हजार नौ सय ८२ जना १८ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । आत्महत्या गर्ने बालबालिकाको कुल सङ्ख्याको ६६ प्रतिशत अर्थात् दुई ६ सय ३३ बालिकाहरू रहेका छन् । पुरुषको सङ्ख्या एक हजार तीन सय ४९ रहेको छ ।
१८ वर्षमुनिका आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी मधेश प्रदेशमा रहेको छ । यस प्रदेशमा पाँच वर्षको अवधिमा एक हजार दुई सय ८६ जनाले आत्महत्या गरेका छन् । यस्तै, यस अवधिमा कोशीमा ६ सय ९६, लुम्बिनीमा ६ सय ५०, सुदूरपश्चिममा चार सय नौ, बागमतीमा तीन सय ९७, गण्डकीमा दुई सय ४०, कर्णालीमा दुई सय २७ र उपत्यकामा ७७ जना रहेका छन् ।

८३ प्रतिशतले झुन्डिएर आत्महत्या गर्छन्
प्रहरीका अनुसार आत्महत्या गर्नेहरूमध्ये ८३ प्रतिशतले झुन्डिएर आफ्नो ज्यान समाप्त गरेका छन् । पाँच वर्षको अवधिमा भएका कुल ३५ हजार दुई सय ३४ आत्महत्याका घटनामध्ये २९ हजार तीन सयले झुन्डिएर आत्महत्या गरेका छन् । १७ हजार पाँच सय १७ पुरुष र ११ हजार तीन सय ८३ महिला रहेको प्रहरीले जानकारी दिएको छ । झुन्डिएर आत्महत्या गर्नेमध्ये एक हजार दुई सय १८ पुरुष र दुई हजार तीन सय ६१ जना १८ वर्षमुनिका छन् ।
प्रहरीका अनुसार पानीमा डुबेर, आफ्नै जीउमा आगो लगाएर, विष सेवन गरेर, हाम फालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गर्छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।