सुदूरपश्चिम प्रदेश

गाउँपालिकाको बजेटबाट अध्यक्षको घरमा एसी र पंखा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले पालिकाको बजेटबाट आफ्नो घरमा एसी, पंखा, इन्भर्टरलगायत विलासिताका सामान खरिद गरेको पाइएको छ । जेन–जी आन्दोलनका क्रममा अध्यक्ष चौधरीको घरमा पनि तोडफोड र आगजनी भएपछि गाउँपालिकाको बजेटबाट घरका लागि सामान खरिद गरेको खुलेको हो ।

गाउँपालिकाको बजेटबाट अध्यक्ष चौधरीको घरमा दुईवटा एसी, चार थान सिलिङ पंखा तथा इन्भर्टर र ब्याट्री जडान गरेको खुलेको हो । आन्दोलनका क्रममा गाउँपालिका कार्यालय र नौवटै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो । गाउँपालिकाले संकलन गरेको क्षतिको विवरणमा अध्यक्ष चौधरीको घरमा जडान गरिएका दुईवटा एसी, चार थान सिलिङ पंखा तथा इन्भर्टर र दुई थान ब्याट्री जलेर नष्ट भएको उल्लेख गरिएको छ ।

बिज्ञापन

अध्यक्षमा निर्वाचित भएपछि चौधरीले गाउँपालिकाबाट ती सामान किन्न लगाएर घर लगेको कर्मचारीले बताएका छन् । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले पछि फिर्ता गर्ने गरी गाउँपालिकाको बजेटबाट अध्यक्षको घरका लागि एसीलगायत केही सामान किनिएको थाहा भएको बताए।  ‘म यहाँ आएको एक वर्षजति भयो, म आउनुअघि नै ती सामान किनिएको रहेछ,’ जोशीले भने, ‘आगजनीबाट सामान नष्ट भएका छन् । अब ती सामानबराबरको रकम अध्यक्षबाट दाखिला गराउने कुरा भएको छ ।’ यसबारे बुझ्न खोज्दा अध्यक्ष चौधरीको मोबाइल अफ छ । 

अध्यक्ष चौधरी वडा नम्बर ४ भितरियास्थित आफ्नो घरमा बस्छन् । गत निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । नौवटै वडामा समेत उनले उठाएका उम्मेदवार निर्वाचित भएका थिए । चौधरी पछि कांग्रेसमै फर्किए । 

वडा कार्यालयको सेवा पालिकाबाट
 गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले गाउँपालिका कार्यालय, नौवटै वडा कार्यालय, अध्यक्ष र उपाध्यक्षको घरमा समेत आगजनी गरेका थिए । उपाध्यक्षको घरबाट सरकारी एउटा स्कुटी जलेर नष्ट हुनुका साथै एक–एक थान ल्यापटप, मोबाइल र पावर बैंक हराएको गाउँपालिकाले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ ।

कैलारीमा आगजनीबाट वडा कार्यालयहरू क्षतिग्रस्त भएपछि वडाको सेवा अहिले पालिकाबाट दिन थालिएको छ । सातवटा वडा कार्यालयका कागजात, कम्प्युटर, फर्निचरलगायत सबै सामान जलेका गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । उनका अनुसार आगलागीबाट भवनमा समेत क्षति पुगेको छ । वडा नम्बर १ र २ को कार्यालयमा भने तुलनात्मक रूपमा कम क्षति भएको कलेलले बताए ।

सेवाग्राहीको काम नरोकियोस् भनेर वडा सचिवहरूलाई बोलाएर पालिकाबाटै सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । उनले आगलागीबाट भवनमा समेत क्षति पुगेकाले सेवा नियमित गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । गाउँपालिका कार्यालयमा पनि सामानहरू तोडफोड हुनुका साथै केही कागजातमा आगजनी भएको थियो ।

‘वडामा कागजपत्र, कम्प्युटर, टेबुलकुर्सी केही पनि बाँकी छैनन् । विद्युत्, इन्टरनेट छैन । भवनसमेत जलेका छन्,’ सूचना अधिकारी कलेलले भने, ‘वडाबाट सेवा दिन नसकिने भएपछि गाउँपालिकाको कृषि शाखाबाट नौवटै वडाको सेवा सुरु गरिएको छ । वडाध्यक्षहरू पनि यहीँ बस्नुहुन्छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।