डीआईजी बढुवामा १६ प्रतिस्पर्धी, वरीयतामा को-को छन् दाबेदार ?

काठमाडौं । नेपाल प्रहरीमा हाल रिक्त चार र कात्तिकमा रिक्त हुने एक गरी पाँच डीआईजी दर्जा त रिक्त हुँदैछ । तर, प्रतिस्पर्धी संख्या झण्डै तेब्बर हुँदा को अगाडि आउने र कसले कसलाई पछार्ने भन्ने होडबाजी नै शुरु भएको छ ।
यसअघि चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्लो बढुवाको वरियता नमिचिएका कारण डीआईजी बढुवा पनि त्यसरी नै हुने प्रहरीबीच अनुमान छ । यदि त्यस्तो भयो भने थुप्रै योग्य अफिसर वृत्ति विकासका दृष्टिले पछाडि पर्ने सम्भावना देखिन्छ ।

हाल एससपी दर्जामा कार्यरत ११२ औँ टोलीका १५ र उनीहरूभन्दा अघिल्लो बढुवामा एसएसपी भएका एक गरी १६ प्रतिस्पर्धी छन् । ११२ टोली भनेको नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५६ असार ३ गते नियुक्त अधिकृत हुन् । उनीहरू २०८० वैशाख २४ मा एसएसपी बढुवा भएका थिए ।
त्यसमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन रहेका छन् । त्यसअघि २०७९ असार २५ मा ३२ एसपीले एसएसपीमा बढुवा पाउँदा ३२ औँ नम्बरमा परेका शारदा चौधरी हालसम्म सोही दर्जामा छन् ।
चौधरीको हालैमात्र मिर्गौला प्रत्यारोपण गरिएको छ । उनको बढुवा टोलीका सबैजसो एआईजी र डीआईजी हुँदा उनीचाहिँ एसएसपीमै थन्किएका छन् ।
अहिले चार डीआईजीमात्र रिक्त रहेको, तर कात्तिक पहिलो साता बढुवा सिफारिस गर्दा थप एक डीआईजी रिक्त हुन्छन् । त्यसैले गृह मन्त्रालयले कात्तिक पहिलो सातामै उनीहरुको बढुवा सिफारिसको मनस्थिति बनाएको छ । कात्तिक १३ गते ३० वर्षे अवधि पूरा गरेर डीआईजी सञ्जीव शर्मा दास अवकाश हुँदैछन् । उनको अवकासभन्दा ७ दिनअघि उनको ठाउँका लागि अर्का डीआईजी सिफारिस हुनसक्छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
