राष्ट्रिय समाचार

ओमानबाट एकै पटक २० जना नेपाली साइबर ठगी अपराधमा देश निकाला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आबुधाबी। ओमानबाट एकै पटक २० जना नेपालीलाई देश निकाला गर्ने त्यहाँको उच्च अदालतले फैसला गरेको छ। साइबर ठगी अपराधमा संलग्न एक महिलासहित २० जना नेपालीलाई डिपोर्टको आदेश जारी गरिएको हो।

दूतावासका अनुसार तीमध्ये ११ जनालाई बिहीबार नेपाल पठाइसकिएको छ भने बाँकी ७ जनालाई सोमबार पठाउने तयारी भइरहेको छ। बाँकी २ जनाको भने अझै उडान तय हुन बाँकी रहेको दूतावासले जनाएको छ।

बिज्ञापन

दूतावासका अनुसार ओमानबाट निकालिएका ती नेपालीहरू नेपालबाट दुबई भिजिट भिसामा गएका र त्यहाँबाट चाइनीज कम्पनीमार्फत रोजगारको आशामा भिजिट भिसामा ओमान पुगेका थिए। गत फेब्रुअरीको अन्त्यतिर ओमान पुगेका उनीहरूलाई कम्पनीले विभिन्न डिजिटल माध्यम प्रयोग गरी अनलाइन लगानी, सामाजिक सञ्जालमार्फत ठगी गर्ने, नक्कली बैंक वेबसाइट र मनोरञ्जनका च्याट एपमार्फत पैसा उठाउने कार्यमा प्रयोग गरेको थियो।

सुराकीका आधारमा रोयल ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा अनुसन्धान अघि बढाउँदै गत मार्च १० मा सोहार शहरबाट २० जना नेपालीसहित कुल २५७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये २ जनालाई ६ महिना कैद र ६ सय ओमानी रियाल जरिवाना तोकिएको छ भने बाँकीलाई ६ महिना कैद र ३ सय ओमानी रियाल जरिवानाको सजाय दिइएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू ओमान पुगे लगत्तै पासपोर्ट र कागजात कम्पनीले कब्जामा राखी “अनलाइन ग्राहक सेवा” वा “लगानी परामर्शदाता”को नाममा नक्कली वेबसाइट तथा च्याट एपमार्फत ठगी गर्ने तालिम दिएको समेत खुलेको छ।

एनआरएनए ओमानका नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार, “परिवारहरूले उनीहरू सम्पर्कमा नभएको भन्दै सहयोग मागेपछि खोजतलास सुरु गरिएको थियो। खोज्दै जाँदा उनीहरू सोहारको जेलमा रहेको पत्ता लाग्यो,” उनले नेपालप्रेससँग भने।

खड्काका अनुसार एनआरएनए केन्द्रीय सदस्य देवन खड्काले सुरु देखिनै जेलमा रहेका नेपाली र मस्कटस्थित नेपाली दूतावासबीच समन्वय गर्न अग्रणी भूमिका खेलेका थिए। राजधानी मस्कटबाट करिब ३०० किलोमिटर टाढा पर्ने सोहार जेलमा रहेका ती नेपालीहरूसँग नियमित सम्पर्क राख्न र टेलिफोन कार्ड पुर्‍याउन समेत देवन स्वयंले सहयोग गरेका थिए।

दूतावास र एनआरएनए ओमानका अनुसार यही समन्वय र सहयोगका कारण २० जना नेपालीको स्वदेश फिर्ती थप सहज बनेको हो।

हालसम्मकै धेरै नेपाली एकै पटक डिपोर्ट: दूतावास

ओमानस्थित नेपाली दूतावासका अनुसार यो घटनाले हालसम्मकै ठूलो संख्यामा एकै पटक नेपालीहरू डिपोर्ट भएको तथ्य देखाएको छ।

ओमनमा पछिल्ला केही महिना यता नेपालीको सख्या ह्वात्तै बढिरहेको ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले बताए । ओमनमा ठूला ठूला निर्माणाधीन परियोजनाहरु चलिरहेकाले पनि नेपालीको माग बढिरहेको दुतावासको भनाइ छ ।

त्यसैमा गएको वर्षबाट बंगलादेश तथा पाकिस्तानी नागरिकलाई ओमानले भिसा दिन रोकेपछि नेपाली कामदारको माग बढेको राजदुत अर्यालले नेपाल प्रेस संग बताए।

हाल ओमानमा झन्डै २५ हजार नेपाली कार्यरत रहेको दूतावासको आंकलन छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।