आन्दोलनमा भवनमा आगजनी भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएपछि प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको छ । आगजनीबाट खण्डहर बनेको प्रदेश सभा भवनमा प्रदेश सभा बैठक बस्न सक्ने अवस्था छैन ।
सांसदले जनताका आवाज उठाउने र कानुन निर्माण गर्ने थलो संसद् कहिले र कहाँ सञ्चालन गर्ने भन्ने अन्योल छ । सामान्यतया दसैँ–तिहारको बिचमा प्रदेश सभा बैठक बस्दैन । तर, तिहारपछि पनि बैठक सञ्चालन हुने अवस्था नरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । क्षतिग्रस्त प्रदेश सभा भवन र अन्य संरचना मर्मत र व्यवस्थापनको काम अझै सुरु भएको छैन ।

सभामुख भीमबहादुर भण्डारीले क्षतिग्रस्त संरचनाको मर्मत र व्यवस्थापन भइनसकेको तथा बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले प्रदेश सभा बैठकको टुंगो नरहेको बताए । संरचना मर्मत र आवश्यक सामग्री व्यवस्थापनका लागि छलफल भइरहेको उनको भनाइ छ । प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामरा, भिडियो क्यामरा, फोटोकपी मेसिन प्रिन्टर, एसीलगायत सामान जलेर नष्ट भएका छन् । हल खण्डहर बनेको छ ।
आन्दोलनकारीले प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालयहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयहरू पनि आगजनी गरेका थिए । सचिवालयका अनुसार प्रदेश सभाका ६ वटा चारपांग्रे गाडी र पाँच मोटरसाइकलमा आगजनीबाट नष्ट भएका छन् । करिब १२ करोडको भौतिक क्षति भएको सचिवालयले जनाएको छ ।
सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रतिपक्षी दलका नेता र उपसचिवले चढ्ने गाडी तथा सदस्यहरू
सामूहिक अनुगमनमा जाँदा चढ्ने एउटा हाइस जलाइएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । गत ५ भदौमा प्रदेश सभा बैठक बसेको थियो । सूचना अधिकारी जैसीका अनुसार प्रदेश सभामा अहिले चारवटा विधेयक विचाराधीन रहेका छन् ।
प्रदेश सभाको अधिवेशन अन्त्य भएको छैन । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनका लागि स्रोतको समस्या रहेको बताए । उनका अनुसार प्रदेश सभा बैठक कक्षको मर्मत, टेबुल, कुर्सी, माइकलगायत सामग्री व्यवस्थापनमा मात्र कम्तीमा ५० लाख खर्च लाग्ने आकलन गरिएको छ ।
‘केही दातृ निकायसँग पनि कुरा गरेका थियौँ, तर स्रोत जुटेको छैन,’ उनले भने, ‘सरकारले पनि मर्मत र व्यवस्थापनबारे केही भनेको छैन । प्रदेश सभा मात्र होइन, धेरै सरकारी संरचना मर्मत गर्नुपर्नेछ ।’ उनले अन्य ठाउँमा बैठक सञ्चालनको विकल्प पनि नदेखिएकाले तत्काल बैठक बस्ने अवस्था नरहेको बताए । ‘संसद् बैठक अन्य मिटिङ बसेजस्तो होइन, मर्यादाअनुसार टेबुल, कुर्सी व्यवस्थापन, साउन्ड सिस्टमलगायत प्राविधिक कुराहरूको व्यवस्थापन हुनुपर्छ,’ सचिव बोगटीले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
