राजनीति

दल खोल्ने गृहकार्यमा मिराज ढुंगाना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन–जी समूहका नेता एवं ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठनको गृहकार्य थालेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत दल खोल्ने घोषणा गरेका ढुंगानाले शनिबार पत्रकार सम्मेलन गरेर नाम, चुनाव चिह्न, विधान, घोषणापत्र, केन्द्रीय समितिसहित पार्टीको सांगठनिक संरचनाको तयारी भइरहेको जानकारी गराएका छन् । पार्टी गठनका लागि वार्ता समिति निर्माण गरिएको उनले बताए । 

वार्ता समितिमा मिराजसहित श्वेता, अमृत, प्रशान्त, विश्वासलगायत १० जना सदस्य छन् । वार्ता समूहले व्यक्तिगत र सामूहिक रूपमा विभिन्न पक्षसँग छलफल गरिरहेको छ । ढुंगाना आफैँले जेन–जीको प्रतिनिधित्व गरेका ‘हामी नेपाल’का सुदन गुरुङ र प्रवेश दाहाललगायतलाई देश विकास र परिवर्तनका लागि एक हुनुपर्ने सन्देश पठाएका छन् । 

बिज्ञापन

‘हामी दल खोल्न तयारी गर्दै छौँ । विधान, नेतृत्वमा को हुने, पदाधिकारी को हुने, नाम के हुने, संरचना कस्तो हुने भनेर छलफल गरिरहेका छौँ । यसका लागि हामीले वार्ता समिति गठन गरेका छौँ,’ उनले भने, ‘गृहकार्य सकिएपछि छिट्टै घोषणापत्र, विधानदेखि सबै कुरा भन्छौँ । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिन्छौँ ।

अहिले हामी पनि अध्ययनमै छौँ ।’ ढुंगानाका अनुसार वार्ता समितिले व्यक्तिगत रूपमा धेरै मान्छेसँग छलफल गरिरहेको छ । ‘देशका लागि केही गरौँ न भनेर पार्टी खोल्ने घोषणा गरेको हो । चार समूहसँग छलफल भइसकेको छ । राजनीतिमा आबद्ध नभएका मान्छेसँग छलफल गर्‍यौँ । हाम्रो वार्ता टोलीले निरन्तर छलफल गरिरहेको छ,’ उनले भने ।

सबै जेन–जी समूहलाई एकै ठाउँमा समेट्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । ‘मैले आफ्नो बलबाट सबैलाई एक ठाउँमा ल्याउन खोजेँ । तर, मैले चाहेर मात्र सम्भव भएको छैन । आउनेहरू रेडी भएका छैनन् । फरक मतहरू छन् । कतिसम्म गर्न सकिन्छ, एक ठाउँमा ल्याउने प्रयास हुन्छ । गर्न सक्ने जति गरेका छौँ । जेन–जी साथीहरूलाई आउन अनुरोध गर्छाैं,’ उनले भने । ढुंगानाले पार्टी खोल्नुको अर्थ चुनाव लड्न मात्र नभएको बताए । 

ढुंगानाले जेन–जी आन्दोलनको मुख्य तीन एजेन्डा भएको र यो सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा गरे । उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राष्ट्रपति पहिलो एजेन्डा हो । विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने दोस्रो एजेन्डा हो । भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरबाट शक्तिशाली छानबिन आयोग बनाउने तेस्रो एजेन्डा हो । ‘यी एजेन्डा सम्बोधन नभएसम्म निर्वाचनमा जाँदैनौँ । शान्तिपूर्ण रूपमा संघर्ष गरिरहन्छौँ,’ उनले भने । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरूको मुख्य बटमलाइन भएको र यो सुन्नैपर्ने बताए । ‘योविना कतै जाँदैनौँ,’ ढुंगानाले भने । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।