गायिका पौडेलले गरिन् आत्म*दाह प्रयास,बाबुल गिरी घाइते

चर्चित गायक तथा संगीतकार धनबहादुर गिरी ‘बाबुल’ जलेर घाइते भएका छन् । अनामनगरस्थित उनको स्टुडियोमा गायिका तथा कलाकार नितु पौडेलले आत्मदाहको प्रयास गर्दा उनी घाइते भएका हुन् । प्रहरीका अनुसार आत्मदाह गर्ने पौडेलको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मरभन्दा माथिको अधिकांश भाग जलेको छ । उनी अहिले बोल्न सक्छिन् । गिरीको भने हात र खुट्टामा चोट लागेको छ । उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
घटनालगत्तै प्रहरी पुगेकाले घाइतेको तत्काल उद्धार हुन सकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । ‘अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास भएको सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुग्यो । प्रहरीले घाइते अवस्थामा दुईजना फेला पा¥यो । उनीहरूलाई उपचारका लागि तत्काल कीर्तिपुरस्थित अस्पताल लगियो । पौडेल गम्भीर घाइते छिन् ।

उनी हल्का बोल्न सक्छिन् । गिरीको भने हात र खुट्टामा चोट लागेको छ,’ उनले भने । प्रहरीका अनुसार पौडल शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियो पुगेकी थिइन् । सोही क्रममा दुई पक्षबिच विवाद भएको थियो । विवादपछि उत्तेजनामा आएकी पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी छिन् । निभाउने क्रममा गिरीको घाइते भएका थिए । पौडेल र गिरी केही समययता प्रेममा थिए ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३३ वर्षीय गिरीले अनामनगरमा यम तिलक नामको स्टुडियो सञ्चालन गर्दै आएका थिए । ३२ वर्षीय पौडेल भने सोही स्टुडियोमा काम गर्थिन् । पौडेलले गीत गाउनुका साथै विभिन्न नाटकमा अभिनय पनि गर्दै आएकी छिन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
