कृषि

खाद्य कम्पनीले कैलालीका ६ ठाउँबाट धान खरिद गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गल्ला व्यापारीले समर्थन मूल्यभन्दा कम भाउमा धान किन्न थालेपछि दबाबमा परेको सरकारी कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीका ६ ठाउँमा खरिद गर्ने भएको छ। 

कम्पनीले कात्तिक दोस्रो साताबाट कैलालीको टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर (धनगढी)बाट किसानबाट धान खरिद गर्ने भएको हो । कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाले धनगढीसहितका पालिकालाई पत्र पठाउँदै धान खरिद हुनेबारे जानकारी गराएका हुन्। 

बिज्ञापन

नयाँ पत्रिकाले आइतबारको अंकमा ‘सरकारी कम्पनी खाद्यले धान नकिन्दा व्यापारीको मनोमानीः  सरकारी समर्थन मूल्य मात्र होइन, पोहोरभन्दा पनि कम भाउमा धान बेच्दै कैलालीका किसान’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। थापाले केन्द्रबाट कोटा निर्धारण भएर आएपछि खरिद सुरु गरिने बताएका थिए। 

तर, जिल्ला प्रशासन कार्यालय कैलालीले समर्थन मूल्यमा धान खरिद भए-नभएको बारे अनुगमन गर्न पालिकालाई भनेपछि जनप्रतिनिधिहरूले सरकारी कम्पनीले धान खरिद थाल्नुपर्ने भन्दै दबाब बढाएका थिए।

खाद्य कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट धान खरिद गर्ने गर्छ। तर, खाद्यले ढिलो गरी खरिद गर्दा किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्छ। खाद्यले खरिद सुरु गरेपछि भने व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन्।  

मन्त्रिपरिषद्को २६ साउनको बैठकले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ । धान बेचेर बिउ, मलखाद, खनजोतको उधारो तिर्नुपर्ने र गहुँखेतीका लागि पैसा चाहिने भएपछि किसान सस्तो भाउमा धान बेचिरहेका छन् । भजनीमा प्रतिक्विन्टल दुई हजार ६ सय रुपैयाँमा धान खरिद विक्री भइरहेको छ।

समर्थन मूल्यभन्दा कममा धान खरिद नगर्न चेतावनी
कैलालीको भजनी नगरपालिकाले सरकारले निर्धारण गरेको न्यूनमत समर्थन मूल्यभन्दा कममा धान खरिद नगर्न गल्ला व्यापारीहरूलाई चेतावनी दिएको छ।

सरकारले निर्धारण गरेको मूल्यभन्दा प्रतिक्विन्टल साढे आठ सय रुपैयाँ कममा किनबेच हुन थालेपछि नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गरी किसानलाई नोक्सान हुने गरी समर्थन मूल्यभन्दा कममा धान खरिद भइरहेको जनगुनासो आइरहेकाले समर्थन मूल्यमै खरिद गर्न र निर्धारण गरिएको मूल्यभन्दा कममा खरिद गरेमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको हो।

आइतबार नै  ‘भ्रष्टाचारविरुद्धको अभियान भजनी’ले मेयर केवल चौधरी र उपमेयर राजु तिरुवालाई भेटेर गल्ला भण्डारको अनुगमन गर्न ज्ञापनपत्र बुझाएको थियो। लगत्तै नगरपालिकाले विज्ञप्ति निकालेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।