घटना

बेपत्ता भएको १८ दिनपछि जंगलमा भेटियो १३ वर्षीया बालिकाको शव 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१८ दिनदेखि बेपत्ता मोरङको लेटाङ नगरपालिका– २ की १३ वर्षीया अंशु गौतमको शव बीभत्स अवस्थामा जंगलमा भेटिएको छ । २१ असोजदेखि बेपत्ता गौतमको शव शुक्रबार बस्तीदेखि करिब चार किलोमिटरमा रहेको चिसाङ साझेदारी वनमा भेटिएकोे हो । 

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने आकलन गरिएको लेटाङ नगरपालिका– २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए । ‘अंशुले लगाएका भित्रि वस्त्रसहितका लुगा खोलिएको अवस्थामा छ । यसले गर्दा बलात्कारपछि हत्या भएको आशंका गर्न सकिन्छ,’ उनले भने, ‘घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्छ भन्ने परिवार र हाम्रो माग हो ।’ 

बिज्ञापन

शवसँगै भेटिएको लुगा, घडी र चप्पलबाट उक्त शव बालिका गौतमकै भनेर पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले बताए । यद्यपि, डिएनए परीक्षणबाट नै सनाखत गरिने उनको भनाइ छ । यसका लागि अझै केही दिन लाग्ने उनले बताए । जंगलमा मृत भेटिएकी ती बालिकाको शरीर क्षतविक्षत रहेको एसपी कटुवालले बताए । 

‘शरीर सढेको अवस्थामा छ । शरीर एकातिर छ । अर्कोतिर टाउको छ । घटना शंकास्पद छ । तर, बलात्कारपछि हत्या भएको निष्कर्षमा अहिले नै पुग्न सकिँदैन । वन्यजन्तु पनि आउने ठाउँ हो । त्यही भएर सबै कोणबाट गम्भीर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । शवको जाँचका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक ल्याबमा पठाइएको छ । ‘डाक्टरसाबले यो शव १२–१३ वर्षको बालिकाको नै भएको बताउनुभएको छ । करिब तीन साताअघि मृत्यु भएको हुन सक्ने डाक्टरको भनाइ छ । तसर्थ हराएकै दिन मृत्यु भएको हुन सक्छ,’ कटुवालले भने ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर शवलाई टुक्राटुक्रा बनाएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटनास्थल र त्यहाँ देखिएको दृश्यलाई जिल्ला प्रहरी कार्यालयको टोलीले विश्लेषण गरिरहेको बताइन् । प्रहरीले टिम नै बनाएर अनुसन्धान गरिरहेको भए पनि हालसम्म केही क्लु फेला नपरेको उनको भनाइ छ । उनले प्रहरीले घटनालाई सूक्ष्म अनुसन्धान गरिरहेको बताइन् ।

लेटाङ– २ की बालिका गौतम नजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । वडाध्यक्ष तिम्सिनाका अनुसार उनी धेरै नबोल्ने स्वभावकी थिइन् । उनी २१ असोजमा हराएकी थिइन् । ‘साँझ साढे ४ बजे घरनजिकै खेल्दै थिइन् । गाउँमा केही घण्टा खेल्न जाँदा खासै खोजिएन । बेलुका ७ बजेसम्म घरमा नआएपछि खोजी सुरु भयो । सामाजिक सञ्जालमा हालियो । आफन्तकहाँ खोजियो । प्रहरीलाई खबर गर्‍यौँ,’ वडाध्यक्ष तिम्सिनाले भने, ‘प्रहरीले पनि सक्रियता देखायो । हामी खोज्न इलामदेखि सुनसरीसम्म पनि पुग्यौँ । जंगलमा पनि खोज्यौँ, तर, भेटिएन ।’ 

शुक्रबार दिउँसो भने उनको शवलाई घाँस काट्न जंगल गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेको वडाध्यक्ष तिम्सिनाले बताए । ‘घाँस काट्न जाने गाउँलेले शुक्रबार दिउँसो सढेगलेको शव फेला पारेर प्रहरीलाई खबर गरे,’ उनले भने, ‘शरीरका अंगहरू छरपस्ट छन् । टाउको र कपाल पनि अलग्गै छ । कम्मरमाथिको भाग सबै गलेर करङ मात्र छ । लुगाहरू फुकालिएको अवस्थामा छन् । शव हेर्दा चिन्ने अवस्थामा छैन । लुगा र घडीले मात्र सनाखत गर्न सक्ने अवस्था पनि छैन । कहिलेकाहीँ कपडा मिल्न पनि सक्छ । शंकाचाहिँ ती बालिकाकै भन्ने भयो । प्रहरीले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।