मनाङ र कास्कीमा लेक लागेर चारजनाको मृत्यु

मनाङ र कास्कीको उच्च हिमाली क्षेत्रमा लेक लागेर चार जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र कास्कीमा एकजनाको मृत्यु भएको हो । मनाङको नार्पाभूमि गाउँपालिकामा ४४ वर्षीय राम थापामगरको लेक लागेर मृत्यु भएको छ ।
उनी नार्पाभुमिकै फु गाउँबाट फर्किने क्रममा लेक लागेर बिरामी परेका थिए । होटलमा बास बसेका बेला उनको मृत्यु भएको हो । त्यस्तै, पर्यटकको भारी बोेकेर फर्कने क्रममा नार्पाभुमि–४ मा डिलबहादुर गुरुङको ज्यान गएको छ । लेक लागेर बिरामी भएका उनलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको थियो । नार्पाभुमि–४ मै याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर साम्बा घलेको पनि ज्यान गएको छ ।

कास्कीमा पनि अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गएका युवाको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका– ११ मा सुरजमान श्रेष्ठको मृत्यु भएको हो । लेक लागेर बिरामी परेका उनको भ्यु प्वाइन्ट होटलमा ज्यान गएको हो । कञ्चनजंघा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर बिरामी भएका एक स्पेनी नागरिकलाई भने हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ ।
प्राधिकरणकी प्रवक्ता एवं उपसचिव शान्ति महतले विज्ञप्ति जारी गर्दै पर्वतारोहण, पदयात्रामा जाँदा सचेतना अपनाउन आग्रह गरेकी छन् । साथै उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह, सम्बन्धित पर्यटन व्यवसायीलगायत सम्बद्ध सबै पक्षले मौसम पूर्वानुमान एवं प्राधिकरणबाट जारी हुने पूर्वसूचना (अलर्ट)अनुसार नागरिकको जीवन रक्षामा योगदान पु¥याउन अनुरोध गरेकी छिन् ।
आमादब्लम आरोहणमा गएका दुई विदेशी आरोहीको मृत्युु
खुम्बु हिमशृंखलाको आमादब्लम हिमाल आरोहणमा गएका दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले आइतबार विज्ञप्ति जारी गर्दै फ्रान्सेली नागरिक हुगो लुसियो लाजारो र कोरियाली नागरिक होङखाई पार्कको मृत्यु भएको जानकारी दिएका हो ।
हिमाल आरोहण गरेर फर्कने क्रममा बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएका हुगोको ७ कात्तिकमा तथा होङखाईको क्याम्प १ र क्याम्प २ बीचमा आइतबार मृत्यु भएको हो । पर्यटन विभागका अनुसार फ्रान्सेली नागरिक हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत र कोरियन नागरिक ८के एक्सपिडिसनमार्फत आरोहणमा गएका थिए । शव सम्बन्धित मुलुकमा पठाउन समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।
हिमाली क्षेत्रमा मंगलबारदेखि शुक्रबारसम्म मौसम प्रतिकूल हुने प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागले १० र ११ कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ । बंगालको खाडी र अरब सागरमा विकसित दुई न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि शुक्रबारसम्म थप प्रतिकूल मौसम रहनसक्ने चेतावनीसमेत जारी गरिएको छ ।
पर्यटन सिजन चलिरहेको अवस्थामा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि निस्किरहेको सन्दर्भमा प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । यात्रामा निस्कनुअघि अद्यावधिक मौसम पूर्वानुमान हेर्न, लेक लाग्ने समस्या देखिएमा तल्लो भूभागतर्फ फर्कन र एक्लै यात्रा नगर्न सचेतसमेत गराएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
