प्रहरी ह*त्यामा संलग्न थप ६ जना पक्राउ

जेन-जी आन्दोलनका क्रममा उपत्यकामा प्रहरीको हत्या गर्ने थप ६ जना पक्राउ परेका छन्। भिडियो र सुराकीको आधारमा प्रहरीले ६ जनालाई हरासताम राखी अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार गोरखाका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, रामेछापका १६ वर्षीय दीपक मगर र अनुपम भण्डारी हाल हिरासतमा छन्।

यसअघि चारजना पक्राउ परेकामा उनीहरू कारागार चलान भइसकेका छन्। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टीकाराम विक असइ मिलन रायको हत्या अभियोगमा पक्राउ परेकोमा अदालतले थुनामा पठाएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरि बस्ने २१ वर्षीय बुद्धिलाल थिङ पनि पुर्पक्षका लागि कारागार छन्।
भदौ २४ गते महाराजगन्ज वृत्तका असइ मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट गरी हत्या गरेका थिए।
त्यस्तै, कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या घटनामा संलग्न एकजना पनि पक्राउ परिसकेका छन्।
प्रहरी हत्यामा संलग्न केही थुनामा गइसकेका र केहीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
