राजनीति

अन्तिममा यसरी जोडिए झलनाथ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पार्टी पुनर्गठनको घोषणा गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्तिम समयमा १० दल–समूहको एकता प्रक्रियामा जोडिएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको संवाद सकारात्मक नभएपछि र महासचिव घनश्याम भुसाल नयाँ पार्टीमा नेतृत्व दिन तयार नभएपछि खनाल अन्तिम समयमा प्रचण्ड–माधवसँगै एकता प्रक्रियामा जोडिएका हुन् । यद्यपि, यो प्रक्रियामा आफ्ना केही ‘रिजर्भेसन’ रहेको र प्रचण्डले ‘सम्बोधन गर्ने’ आश्वासन दिएको खनालको दाबी छ ।

खनाल–भुसालपक्षीय केन्द्रीय सदस्यहरूको भेलामा खनालले ‘मार्क्सवादमा पुस्ताको कुरा हुँदैन’ भन्दै नेतृत्व दाबी गरेका थिए । तर, भुसाल आफैँ नेतृत्व गर्न अघि सरेपछि खनाल सशंकित बनेको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार खनालले तत्काल आफूले संयोजन गर्ने र महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्न चाहेका थिए । तर, भुसाल तयार भएनन् । भुसालले नेतृत्व दाबी नगर्न खनाललाई दबाब दिन अरू नेतालाई पनि बोल्न लगाए । खनालले त्यसलाई सकारात्मक रूपमा लिएनन् ।

बिज्ञापन

अर्कोतर्फ एमाले अध्यक्ष ओलीले एमालेमा फर्किन सार्वजनिक आग्रह गर्दा खनालले चारबुँदे सर्त माने फर्किन सकिने बताएका थिए । मार्क्सवाद लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशा स्पष्ट हुनुपर्ने, समाजवादी कार्यक्रममा एकमत हुनुपर्ने र जबज त्याग्नुपर्ने सर्त अघि सारेका थिए । तर, त्यसमा ओली सकारात्मक थिएनन् । मंगलबार साँझ गुन्डुमै पुगेर खनालले ओलीसँग छलफलसमेत गरेका थिए । खनाललाई लिन ओलीका सहयोगी खनालनिवासमै पुगेका थिए । एमाले नेताहरूले छलफल सकारात्मक भएको प्रचार गरेका थिए । तर, खनालले श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ्य उपचारका क्रममा देखाएको सद्भावका लागि धन्यवाद दिन गएको दाबी गरेका छन् ।

बुधबार बिहान प्रचण्डले खनालसँग छलफल गरेका थिए । बुधबारको छलफलमा प्रचण्डले खनालका चारबुँदे सर्तसँग कुनै विमति नभएको भन्दै सँगै अगाडि बढ्न आग्रह गरेका थिए । प्रचण्डले आफूले नै जोडबल गरेर विगतमा प्रधानमन्त्री बनाएको प्रसंगसमेत निकालेका थिए । खनालले राखेको आफूनिकट नेता तथा कार्यकर्ताको व्यवस्थापनमा समेत प्रचण्डले सम्बोधन हुने प्रतिबद्धता जनाएको एक नेताले बताए ।

प्रचण्डको जोडबलमा खनाल एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् । सुरुमा प्रचण्ड र खनालबिच मात्रै छलफल भएको थियो भने त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, खनाल र घनश्याम भुसालबिच संयुक्त छलफलसमेत भएको थियो । तर, भुसालले नेतृत्व हस्तान्तरणमा सहमति हुनुपर्ने विषय उठाएपछि कुरा मिलेको थिएन ।

खनाल एकता राष्ट्रिय सम्मेलनमा केही ढिला उपस्थित भएका थिए । उनले ढिला हुनुको कारण रहेको सम्बोधनकै क्रममा बताए । ‘मैले कमरेड प्रचण्डलाई ‘रिजर्भेसन’ भनिसकेको छु । उहाँले हामी त्यो कुरा मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ खनालले भने, ‘त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको विकल्प छैन भनेर एकतामा बल पुर्‍याउन आएको हुँ ।’

खनाल–भुसाल समूहलाई एकता प्रक्रियामा सहभागी गराउन एकीकृत समाजवादीको संस्थापन पक्षको भन्दा माओवादीको बढी जोड थियो । प्रचण्डसहितका नेता खनालसँग निरन्तर संवादमा थिए । नीतिमा फरक नभएको भन्दै एकीकृत आन्दोलनमा आउन माओवादी नेताले जोड गरेका थिए । यद्यपि, खनालले माओवादीसँग मात्रै एकता गरेर बृहत् वाम एकता नहुने बताउँदै आएका थिए ।

घनश्याम नयाँ पार्टीको तयारीमा, झाँक्रीसहितको टोली एमाले फर्किँदै

एकता प्रक्रिया अस्वीकार गर्दै पार्टी पुनर्गठन अभियानको घोषणा गरेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाएका छन् । भेलाले आगामी कार्ययोजना तय गर्ने र पार्टी पुनर्गठनको अभियान अघि बढाइने उनले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । उनलाई नेताहरू डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, सुष्मा राईलगायतले साथ दिएका छन् । 

एकता प्रक्रियामा नगएकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेतृत्व गरेको एउटा समूह भने एमालेमा फर्किने भएको छ । बुधबार पत्रकार सम्मेलन नै गरेर उनीहरूले यसको जानकारी दिएका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।