राष्ट्रिय समाचार

भ्रष्टाचारी नेतालाई कारबाही गर्न दबाब बढाउँदै जेन–जी : गगनदेखि नारायणकाजीसम्मको समर्थन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन–जी अगुवाहरूले भ्रष्टाचारमा मुछिएका नेतामाथि कारबाही प्रक्रिया अगाडि बढाउन सरकार र दलका दोस्रो र तेस्रो तहका नेतामाथि दबाब बढाएका छन् । ‘जेन–जी मुभमेन्ट अलायन्स’को छाताभित्र एकत्रित भएका युवाहरूले दोस्रो र तेस्रो तहका नेतालाई चरणबद्ध छलफलमा बोलाएर भ्रष्टाचारविरुद्धको कारबाहीमा ऐक्यबद्धता खोजेका हुन् ।

भ्रष्टाचारमा मुछिएको पार्टीको शीर्ष नेतालाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुहुन्छ कि हुँदैन भनेर उनीहरूले छलफलमा बोलाएर सोधेका थिए । यसअघि अलायन्सका प्रतिनिधिले प्रधानमन्त्री सुशीला कार्कीलाई २३ भदौको घटनाको दोषीलाई कारबाही गर्न, भ्रष्टाचारमा मुछिएका दलका शीर्ष नेतृत्वलाई कानुनी कारबाहीको दायरामा ल्याउन र सम्पत्ति छानबिन गर्न ध्यानाकर्षण गराएका थिए ।  

बिज्ञापन

जेन–जी आन्दोलनपछि अलायन्सले सोमबार तेस्रो चरणमा कांग्रेस, एमाले, माओवादीलगायत दलका दोस्रो तहका नेतासँग छलफल गरेको छ । छलफलमा नेताहरूले भ्रष्टाचारविरुद्ध कानुनबमोजिम हुने कारबाहीमा पूर्ण साथ समर्थन हुने प्रतिबद्धता जनाएका छन् । साथै, दलभित्र पुस्तान्तरणका लागि लडिरहेको जानकारी उनीहरूले गराएका छन् । उनीहरूले चुनावको विकल्प नभएको तर वातावरण बनाउन जेन–जीले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए । 

जेन–जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनालका अनुसार तेस्रो चरणमा कांग्रेस महामन्त्री गगन थापा, नेता मीनेन्द्र रिजाल, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाकी सुशीला श्रेष्ठ, विवेकशील साझाबाट रञ्जु दर्शना, पूर्वमन्त्री विश्वेन्द्र पासवान, विश्लेषक खगेन्द्र संग्रौलालगायत सहभागी थिए । छलफलमा अलायन्सका तर्फबाट मोनिका निरौला, रिजन रानामगर, सामना लावती, अनुषा खनाल, प्रभात लाभ, विकास कामी, आशुतोष झा, लुज महर्जन, सुदीप सेठ, कमल थापामगर, राजु मण्डलले प्रश्नहरू राखेका थिए । 

उनीहरूले आन्दोलनको मर्मलाई दलहरूले कसरी बोकेका छन्, दलका लागि के अर्थ राख्छ भनेर सोधेका थिए । दलहरूले आन्तरिक लोकतन्त्र सुधार गर्न के–कस्ता कदम चलाइरहेका छन्, नेतृत्वको पुस्तान्तरणका निम्ति कस्ता अभ्यास भइरहेका छन्, दलको रूपान्तरण कसरी सुरु गर्नुभएको छ भन्ने प्रश्न पनि दोस्रो र तेस्रो तहका नेतासामु राखेका थिए । 

‘जेन–जी आन्दोलनपछि नेताहरूको सोचाइ के छ, परिवर्तनलाई आत्मसात् गर्नुभएको छ कि छैन, पुरानालाई नेतालाई बिदा गर्न खोज्नुभएको छ कि छैन, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुहुन्छ कि हुँदैन भन्ने कुराहरू बुझ्न र सुशासनका लागि दबाब बढाउन अलायन्सले दोस्रो र तेस्रो तहका नेताहरूसँग छलफल गरिरहेको छ । तेस्रो चरणको छलफलसम्म आइपुग्दा उहाँहरूको सकारात्मक धारणाबाट उत्साहित छौँ,’ अगुवा खनालले भने । 

कांग्रेस महामन्त्री थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो र पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । थापाले भ्रष्टाचार गर्ने कसैको पनि मुख हेर्न नहुनेमा जोड दिए । उनले पुस्तान्तरण जरुरी रहेको र लडिरहेको पनि बताए । ‘हामी पुस्तान्तरणका लागि पार्टीभित्र लडिरहेका छौँ । समयमा महाधिवेशन गराउन र चुनावको तयारीका लागि पनि आवाज उठाइरहेका छौँ । तर, हामीलाई पनि पार्टीभित्र गाह्रो छ, आफ्नै मान्छेसँग लड्नुपरेको छ । मैले म साधारण सदस्य रहेर बस्छु, तर पुस्तान्तरण हुनुपर्छ भनेको छु,’ थापाले भने । 

नेता मीनेन्द्र रिजालले पुस्तान्तरण जरुरी रहेको बताए । ‘पुस्तान्तरणमा उमेर भन्ने कुरा हुँदैन । विचारमा युवा हुनुपर्छ,’ उनले भने । जेन–जीहरूले उमेरको अन्तरले नयाँ पुस्तालाई बुझ्न नसकिने भन्दै प्रतिवाद गरेका थिए । 

एमालेका सुरेन्द्र पाण्डेले सुशासनका लागि पूर्ण साथ सहयोग रहने बताए । केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पुस्तान्तरणका लागि आवाज उठाउँदा कारबाही भाग्नुपरेको सुनाइन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुशासनका लागि आफ्नो दलले पूर्ण साथ दिने बताए । आफूहरू चुनावमा केन्द्रित भइसकेको जानकारी गराउँदै उनले समयमै हुनुपर्ने धारणा राखे । 

अलायन्सका अगुवा खनालले भ्रष्टाचारका कुरामा सरकारले छानबिन प्रक्रिया अगाडि बढाउँदा दलहरूले कसरी सहयोग गर्ने प्रश्न स्पष्ट जवाफ नआएको बताए । ‘शीर्ष नेता भ्रष्टाचारमा मुछिएको कुरामा छानबिन गर्न के गर्नुहुन्छ भन्ने कुरामा खासै जवाफ आएन । यसले चुनावबाट स्वच्छ मान्छे कसरी आउला भन्ने प्रश्न रह्यो,’ उनले भने, ‘भ्रष्टाचार मुछिएका ठुला नेतालाई कानुनी दायरामा ल्याएर चुनावमा लड्न बन्देज लगाउने र भ्रष्टाचारी नेता रोक्न सकिने कुराहरू हाम्रो सरोकार हो ।’

विवेकशीलकी रञ्जु दर्शनाले सुशासनकै एजेन्डामा जेन–जी आन्दोलन भएकाले यसलाई संस्थागत गर्न सरकार भ्रष्टाचारविरुद्ध निर्मम हुनुपर्ने र दलहरूले पनि साथ दिनुपर्ने बताइन् । अलायन्सले यसअघि पूर्वमन्त्री सुमना श्रेष्ठ, माओवादी नेता सुदन किराँती, नेपाल समाजवादी पार्टीका मानुषी यमी, दुर्गा सोबलगायतसँग छलफल गरिसकेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।