घटना

हेटौंडाकी मेयर लामालाई बला*त्कारको धम्की : भन्छिन् महिला भएर जन्मनु गर्वको विषय भएपनि महिला भएर बाँच्नु कठिन छ’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडाकी मेयर मिना लामालाई बलात्कारको धम्की आएको विषयले यतिबेला निकै चर्चा पाएको छ। मंगलबार हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहर घोषणा सम्झौता कार्यक्रमको फोटोसहित आफुलाई सामाजिक सञ्जाल र फोनमार्फत बलात्कारको धम्की आएको विषय सार्वजनिक गरेकी छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले भोग्दै आएको पीडा सार्वजनिक गर्दै नेपाली महिलामाथिको असुरक्षा र सामाजिक सोचप्रति तीव्र आक्रोश व्यक्त गरेकी छन्। उनले भनेकी छन्, ‘महिला भएर जन्मनु गर्वको विषय भए पनि नेपाली समाजमा महिला भएर बाँच्नु कठिन छ ।’ मेयर लामाकाअनुसार जेन–जी आन्दोलनपछिको समयमा महिलामाथिको द्वेषपूर्ण टिप्पणी र धम्कीको क्रमले नेपाली समाजको वास्तविक अनुहार देखाएको छ।

बिज्ञापन

उनी भन्छिन् ‘महिला भएर जन्मनु गर्वको कुरा हो, तर नेपाली समाजमा महिला भएर बाँच्नु निकै कठिन छ। सामाजिक सञ्जालमार्फत ‘बलात्कार गर्ने धम्की’ दिइएका सन्देशहरू दैनिकजसो आउँछन् । राति फोन गरेर घटनाबारे भेट्न वा विवाद टुंग्याउन भनिन्छ। यस्तो समाजमा साधारण महिलाहरू कति असुरक्षित होलान् भनेर कल्पना गर्न पनि डर लाग्छ ।’केही व्यक्तिहरूले आफ्नो नजिक बनेर व्यक्तिगत फाइदा लिन खोज्दा नसकेपछि झुटा आरोप र सामाजिक आक्रमणमार्फत चरित्रहत्या गर्ने प्रयास भएको हो उनको दाबी छ।

‘मेरो पछाडि बसेर मलाई बलात्कृत बनाउन चाहनेहरूले कलिला किशोरकिशोरीहरू प्रयोग गरे। त्यतिबेला मैले नेपाली तथाकथित सचेत पुरुषहरूको कुरूप अनुहार देखेँ,‘ उनले भनेकी छन्, ‘असुरक्षाका लागि सबै पुरुष राक्षस बन्नु पर्दैन । सज्जन पुरुषकै अगाडि पनि नेपाली महिला खुलेआम बलात्कृत हुन सक्छिन् । नगरप्रमुखजस्तो पदमा रहेकी महिलालाई पनि बलात्कारको धम्की आउनु अत्यन्त लाजमर्दो अवस्था हो ।’

मेयर लामाले हेटौँडालाई महिला–मैत्री सहर घोषणा गर्ने तयारीसँगै मिश्रित भावना व्यक्त गरेकी छन् । ‘यही बेला महिला–मैत्री सहर घोषणा गर्न सम्झौता गर्दै गर्दा मलाई धम्की दिने ती युवाहरू सम्झिरहेकी थिएँ । यो सहर महिला–मैत्री घोषणा भएपछि कम्तीमा एउटी महिला नगरप्रमुखलाई बलात्कारको धम्की सहनु नपरोस् भन्ने चाहना हो ।’

नगरप्रमुखले नगरलाई महिलामैत्री बनाउन लागिएको प्रयासमा सहयोगी दाता संस्था संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपिएस) बीच भएको सम्झौतापछि उनले भनेकी छन्ः ‘एउटी नारी बलात्कृत हुन जन्मएकी होइन। एउटी नारीको उपयोगिता यौन होइन। एउटी नारीले गल्ती गरिन् भने त्यसको सजाय बलात्कार होइन । सहरलाई महिला–मैत्री बनाउनु ठूलो कुरा होइन, तर नकारात्मक चिन्तनलाई सकारात्मक घोषणामा रूपान्तरण गर्नु नै सबैभन्दा ठूलो चुनौती हो ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।