सरकार मेरो पछाडि लाग्यो : ओली

एमाले अध्यक्ष केपी ओलीले सरकार आफैँले जेन–जी समूहका नाममा ज्ञापनपत्र बुझाउन लगाएर आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउका लागि माग गराइरहेको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपाल सम्मिलित सञ्चारकर्मीको टोलीसँग भक्तपुर, गुन्डुस्थित निवासमा कुरा गर्दै ओलीले त्यस्तो बताएका हुन् ।
‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ भदौका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापनपत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुप¥यो भन्न लगाएको छ,’ ओलीले भने, ‘यो कुनै जेन–जी समूहले गरेको होइन । सरकारले आफैँ यस्ता समूह खडा गरेर, आफैँ ज्ञापनपत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’ यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूसँग रहेको उनको भनाइ थियो ।

ओलीले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन–जीबाट नबनेकाले यो सरकार कसको हो भन्ने प्रश्नसमेत गरे । ‘यो सरकार कसको प्रतिनिधि हो ? जेन–जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसद्ले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ,’ ओलीले प्रश्न गरे, ‘आखिर यो सरकार कसको हो ?’
ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद् पुनस्र्थापना एक मात्र विकल्प भएको पनि बताए । संसद् विघटनलाई सिंगो देशले नै अस्वीकार गरेको उनले बताए । ‘अहिलेको संसद् विघटनलाई सिंगो देशले अस्वीकार गरेको छ । सबै वडाहरूले अस्वीकार गरेका छन् । पालिकाहरूले अस्वीकार गरेका छन् । जिल्लाहरूले अस्वीकार गरेका छन्,’ उनले भने, ‘त्यसको प्रमाणका रूपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला, पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठुलो संख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्वीकृत गरिसके ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
