राष्ट्रिय समाचार

भारतद्वारा विपत् प्रभावित क्षेत्रका लागि नेपाललाई १० बेलिब्रिज सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विपत् प्रभावित क्षेत्रमा आपतकालीन उपयोगका लागि भारत सरकारले नेपाललाई १० बेलिब्रिज सहयोग उपलब्ध गराएको छ। तीमध्ये पहिलो बेलिब्रिज बिहीबार हेटौँडामा आयोजित विशेष समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त पुल हस्तान्तरण गरेका हुन्। गत महिना पूर्वी नेपालका विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण सडक सञ्जाल गम्भीर रूपमा अवरुद्ध भएपछि नेपाल सरकारको अनुरोधअनुसार भारतले गत वर्षझैँ यस वर्ष पनि १० बेलिब्रिज उपलब्ध गराएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए। 

उनका अनुसार हाल प्राप्त पुलहरू हेवाखोला, बागमती नदी र लार्छाजस्ता संवेदनशील तथा महत्त्वपूर्ण स्थानमा जडान गरिनेछ, जसले अवरुद्ध आवागमन पुनः स्थापना गर्न ठुलो मद्दत पुर्‍याउनेछ। हस्तान्तरण गरिएका पुलहरू ७० मिटरभन्दा लामो, ४.२५ मिटर चौडा एकल–लेन संरचना भएका छन्। ती ३८ मेट्रिक टन भार वहन गर्ने क्षमता भएका छन्। ती पुल तत्काल जडानका लागि आवश्यक तयारी थालिएको महानिर्देशक जैसीले बताए ।

बिज्ञापन

लामो स्प्यानका बेलिब्रिज जडानमा विशेष प्राविधिक दक्षता आवश्यक पर्ने भएकाले भारतले पुल निर्माण कम्पनी ‘गार्डन रिच’का प्राविधिक विशेषज्ञ नेपाल पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार सो टोलीले नेपाली इन्जिनियरलाई तालिम तथा क्षमता विकास गर्दै पुल जडानमा सहयोग गर्नेछ ।

विपतकाे समयमा भारत भरपर्दो साझेदार : मन्त्री घिसिङ
समारोहलाई सम्बोधन गर्दै मन्त्री कुलमान घिसिङले विपत् व्यवस्थापनदेखि विकास निर्माणसम्म भारत नेपालका लागि विश्वसनीय साझेदार बनेको बताए । उनले हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ निर्माणदेखि विभिन्न पुल तथा सडक परियोजनामा भारतको सहयोगले नेपालको यातायात सञ्जाल सुदृढ बन्दै गएको उल्लेख गरे ।

घिसिङका अनुसार भारतीय एक्जिम बैंकमार्फत उपलब्ध गराइएका उदार ऋण सुविधामा सञ्चालन भएका परियोजनाले दुर्गम क्षेत्रमा पहुँच विस्तार, क्षेत्रीय कनेक्टिभिटी तथा राष्ट्रिय यातायात प्रणाली सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । सीमापार रेलमार्ग विस्तार, विशेषगरी जनकपुर–कुर्था–बिजलपुरा–बर्दीबास लाइन तथा जोगवनी–विराटनगर करिडोर परियोजना दुवै मुलुकबिचको सम्बन्ध अझ सुदृढ बनाउने आधार बनेको उनले उल्लेख गरे ।

मन्त्री घिसिङले भूकम्पपछिको पुनर्निर्माणदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा र सामाजिक क्षेत्रसम्म भारतले पुर्‍याउँदै आएको सहयोगले नेपालका विभिन्न क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको बताए । भविष्यमा हरित पूर्वाधार, जलवायु–प्रतिरोधी यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा पनि सहकार्य विस्तार हुने अपेक्षा व्यक्त गरे ।

त्यस्तै, भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले अहिले सामना गरिरहेको चुनौतीपूर्ण अवस्थालाई पार गर्न भारत निरन्तर सहयोग गर्न तयार रहेको बताए । ‘यो बेलिब्रिज हस्तान्तरण भारतको नेपालसँगको विकास साझेदारी र कठिन समयमा साथ दिन सक्ने प्रतिबद्धताको प्रतीक हो,’ राजदूत श्रीवास्तवले भने । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी, सडक विभागका प्राविधिक तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।