निर्वाचनमा युवालाई धेरैभन्दा धेरै अवसर दिन्छौँ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा धेरैभन्दा धेरै युवालाई अवसर दिने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले जेन–जी आन्दोलनपछि थप ऊर्जा प्राप्त भएको बताए । जेन–जीका विचार, एजेन्डा र शक्तिलाई एकसाथ अघि बढाएर विजयी गराउनुपर्ने उनको भनाइ छ ।
युवाहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक रूपमा नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्ने उनले बताए । जेनजी पुस्ताले सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य पारेको उनको दाबी छ । उनले युवालाई पार्टी र आगामी निर्वाचनमा स्थान दिँदै जाने पनि बताए ।
‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ उनले भने, ‘जेन–जी युवाहरूले उठाएका माग सही छन् । आन्दोलनको उद्देश्य सही छ । हामी पार्टी र निर्वाचनमा युवालाई धेरैभन्दा धेरै अवसर दिनेछौँ ।’

प्रचण्डले वैचारिक, सांस्कृतिक रूपमा युवा पुस्तालाई जिम्मेवारी सुम्पिँदै जाने बताए । सरकार र संसद्बाट विगतमा सुशासन, सामाजिक न्याय र सुशासनको पक्षमा लडाइँ लडेको भन्दै उनले जेन–जीका माग र भावना पनि त्यही भएको दाबी गरे । जेन–जी आन्दोलनले नयाँ परिस्थिति निर्माण गरेको पनि उनले बताए । जेन–जीको माग र आफूहरूको माग समाज भए पनि विगतमा पर्याप्त काम गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।
‘जेन–जी र हाम्रा मागमा देखिएका समानता र विगतमा हामीबाट भएका गल्ती कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको भावनाअनुसार आफैंलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने संकल्प गर्ने परिस्थिति बनेको छ । झन्डै एक हजार जेनजी पुस्ताका युवाहरूलाई पार्टीमा स्वागत गर्दैगर्दा विगतलाई स्मरण गर्नेतिर मेरो मन गयो । १६ वर्ष पुगेपछि म पार्टीमा कसरी जोडिएँ ? २७ वर्षको उमेरमा युवक संघको अध्यक्ष कसरी भएँ ? ३५ वर्ष पुगेपछि पार्टीको प्रमुख नेता कसरी भएँ ? युवाहरूलाई नै लिएर मैले जनयुद्धको तयारी कसरी गरेँ ? जनयुद्ध र जनआन्दोलन मिलेर नेपालमा कसरी संविधान सभा र लोकतान्त्रिक गणतन्त्र आयो ? यो देशका महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, मधेसीलगायत सबै उत्पीडित वर्ग, समुदायले समावेशिता कसरी प्राप्त गरिराखे ?’ प्रचण्डले भने ।
नेकपाले आगामी २१ फागुनको निर्वाचनका लागि निर्वाचन अयोगमा दल दर्ता गरिसकेको छ । तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायत १० वाम मिलेर गत १९ कात्तिकमा नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । नेकपाको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । नेकपाले आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको पहिलो दिन नै १ मंसिरमा दर्ता गरेको नेकपा नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
