राजनीति

राप्रपा महाधिवेशन चुनावपछि, सबै निकायको म्याद ६ महिना थप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बिहीवार बसेको बैठकले महाधिवेशन २१ फागुनको निर्वाचनपछि आयोजना गर्ने निर्णय गरेको छ । यसका लागि राप्रपाले केन्द्रदेखि सबै तहका समितिहरुको म्याद ६ महिना थपेको छ । 

विधानको दफा ५९(२) बमोजिम म्याद सकिएको मितिले ६ महिनाको लागि म्याद थप गर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । महाधिवेशनको कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सम्मिलित समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

बिज्ञापन

पार्टीको सक्रिय सदस्यता वितरणका लागि सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न वरिष्ठ नेता उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरिएको राप्रपाले जनाएको छ । राप्रपाले केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र धनसुर शाहीलाई थप गरेको छ । 

‘मुलुकको समसामयीक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘राजा, राजनीतिक दल र जेन–जीबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले राप्रपाले २३ मंसिरमा काठमाडौंमा उपत्यकाव्यापी  प्रदर्शन गर्ने निर्णय गरिएको  छ।’ 

राप्रपाले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समिति गठन गरेको छ । 

राप्रपाले केन्द्रीय अनुशासन समितिको सिफारिश अनुसार पार्टीका मधेश प्रदेशका प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने पनि निर्णय गरेको छ । 

राप्रपाले जेन–जी प्रदर्शनमा सहभागी भएकै कारणले मात्र विभिन्न ठाऊँमा धरपकड गर्ने, थुनामा राख्ने कार्यको भत्र्सना गरेको छ । गैरकानुनी थुनामा रहेका कार्यकर्तालाई विना शर्त रिहा गर्न राप्रपाले माग गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।