सुदूरपश्चिम प्रदेश

 सिटामोल लिन एक दिनको पैदल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी ।आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकमा रहे पनि बझाङका केही दुर्गम गाउँ अहिलेसम्म आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन् । 

सदरमुकाम चैनपुरबाट दक्षिणी भेगमा पर्ने बुङ्गल नगरपालिका–२ अन्तर्गत मजिउनका स्थानीयलाई सामान्य सिटामोल लिनसमेत एक दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । मजिउनका बासिन्दाले बर्सौंदेखि उपचारका लागि बुङ्गल नगरपालिका–२ को गिरौँ स्वास्थ्य चौकीमा जानु पर्छ । स्वस्थ व्यक्तिले मजिउनबाट सो चौकीसम्म पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । बिरामीले हिँडेर जान खोजे प्रायः पूरै दिन खर्चिनु परेको स्थानीय देव धामीले पीडा सुनाउनुभयो । 

बिज्ञापन

गाउँमा स्ट्रेचरसमेत नभएकाले बिरामीलाई (डोकोमा हालेर) बोक्दै स्वास्थ्य चौकीसम्म पु¥याउनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवाको पहुँच नभएकाले सामान्य रोगव्याधिमा पनि स्थानीय धामीझाँक्रीकै भर पर्नु परेको उहाँको भनाइ छ । मजिउनमा हाल धामी समुदायका करिब ३० परिवार बसोबास गर्छन् ।

नजिकको अर्को बस्ती पुग्न पनि करिब पाँच घण्टा लाग्ने भएकाले एक जना बिरामीलाई बोक्नुपर्ने अवस्था आयो भने गाउँ नै खाली हुने गरेको स्थानीय अर्जुन धामीले बताउनुभयो “बिरामी बोक्नका लागि २०/२५ जनासम्म मान्छे सँगै हिँड्नु पर्छ । बोक्ने मान्छे नपुग्दा कतिपयलाई घरमै राख्नु परेको उहाँको भनाइ छ । गाउँमा प्रसूति सेवा तथा खोप केन्द्र नहुँदा महिलाले बढी समस्या भोग्नु परेको अर्को स्थानीय पुष्पादेवी धामी बताउनुहुन्छ । “व्यथा लाग्दा बोकेर लैजान स्ट्रेचर छैन । घाँस काट्ने डोकोमै हालेर दौडिनु पर्छ । कहिलेकाहीँ त बोक्ने मान्छे नै भेटिँदैन,” उहाँले भन्नुभयो । “कतिपयले बाटैमा बच्चा जन्माउँछन्, कतिपयले ज्यानै गुमाउँछन् ।”

नवजात शिशु भएपछि खोप लगाउन पनि लामो दुरी हिँड्नुपर्ने भएकाले सुत्केरी र नवजात दुवै जोखिममा पर्ने गरेको उहाँको भनाइ छ । खोप केन्द्र पुग्न दिनभर लाग्ने भएकाले धेरै बालबालिका अझै पनि नियमित खोप सेवाबाट वञ्चित रहेको अर्की स्थानीय मैना धामी बताउनुभयो । 

“खोपको महत्व बुझेकाले त हिँडेरै भए पनि गएर लगाउँछन् तर धेरैले ‘अब खोप लाएर के हुन्छ’ भनेर खोप नै लाउँदैनन् । गाउँमै खोप केन्द्र भएको भए एक जना बच्चा पनि खोपबाट वञ्चित हुनु नपर्ने उहाँको भनाइ छ । 

स्वास्थ्य चौकी टाढा भएका कारण बिरामी पर्नासाथ उपचार नपाइने, सिकिस्त भएपछि मात्र बोकेर लैजानुपर्ने बाध्यताले कतिपयको ज्यानै जाने गरेको स्थानीय नन्दा धामी बताउनुहुन्छ । मजिउनमा करिब तीन सयको हाराहारीमा जनसङ्ख्या रहेको उहाँले बताउनुभयो । मजिउन मात्र होइन, बुङ्गल नगरपालिका–२ का लौने, कलौन, बमौर तथा बुङ्गल–६ का बड्डीज्यावन, चिल्ठा, गल्लेकलगायतका बस्तीका स्थानीयले पनि यस्तै समस्या भोग्दै आएका छन् । यी गाउँबाट स्वास्थ्य चौकीसम्म पुग्न चार घण्टाभन्दा बढी पैदल हिँड्नु पर्छ ।

समस्या समाधानका लागि स्थानीयले नगरपालिका र जिल्ला तहका निकायमा पटक पटक धारणा राखे पनि सुनुवाइ नभएको उहाँहरूको गुनासो छ । चुनावका बेला दलका नेताहरू आउनुहुन्छ, सबै समस्या समाधान हुन्छ भनेर जानुहुन्छ तर चुनाव जितेर गएपछि फर्केर नआएको उहाँहरूको गुनासो छ । मजिउनबाट भोट हाल्नका लागि मतदान केन्द्र जान पनि एक दिन पैदल हिँड्नु पर्छ । यता बुङ्गल नगरपालिका–२ का वडाध्यक्ष बिरे धामीले आफू पनि सोही क्षेत्रको स्थानीय भएकाले समस्या राम्रोसँग बुझेको बताउनुभयो । 

उहाँका अनुसार हाल नगरपालिका स्रोतबाट मजिउनलाई सडक सञ्जालसँग जोड्ने कार्य अघि बढाइएको छ । गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न जनसङख्या न्यून र लागत धेरै पर्ने भएकाले तत्काल सम्भव नभएको अध्यक्ष धामीको भनाइ छ ।   

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।