एमालेको केही पङि्तसँग पनि एकताका लागि छलफल भइरहेको छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेको केही पङ्तिसँग पनि एकताको लागि छलफल भइरहेको बताएका छन् । पार्टीको शनिबार दाङको लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले एमालेभित्रका क्रान्तिकारी देशभक्त पङ्तिसँग छलफल भइरहेको बताए । ‘एमालेभित्र पनि धेरै क्रान्तिकारी र देशभक्त पंक्ति छ,’ उनले भने, ‘त्यहाँको पंक्तिलाई ल्याएर केही समयपछि बृहत एकता पनि गर्न सकिन्छ ।’
कम्युनिष्ट एकता मात्रै नभई राष्ट्रियता, संविधान, जनताको आकांक्षा पूरा गर्न कांग्रेससँग पनि मोर्चा बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाइ छ । साथै, उनले जनार्दन शर्मा पनि केही समयमा एकतामै आउनु पर्ने बताए ।

उनले सातवटै प्रदेशमा भइरहेको एकता सभा आत्मआलोचित हुने सभा पनि भएको बताए । उनले विगतमा गरेका कम्जोरीलाई सच्चाउँदै राष्ट्रियता, स्वाधिनता, जनताको स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहितको सभा भएको बताए । ‘विकास निर्माणमा कहाँ चुक्यौँ । जनताका हरेक समस्या समाधान गर्न हामी कहाँ चुक्यौँ,’ उनले भने, ‘यस्ता कुराको कमजोरी खोतल्ने, सच्चाउने र आत्मआलोचना गर्ने सभा पनि हो ।’
अहिले मुलुकका १५ वटा कम्युनिष्ट पार्टीहरूबिच एकता गरेर विगतका कम्जोरीहरूलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने संकल्प सभाका रुपमा सभालाई लिएको उनको भनाइ थियो । संयोजक प्रचण्डले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पिडित समुदायसँग सम्बन्धलाई दाह्रो बनाएर उनीहरूको हक अधिकारका लागि अर्को लडाइ लड्ने एकता पनि रहेको बताए ।
यो एकता चुनाब जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि भएको उनको भनाइ थियो । मुलुकमा दुई तिहाइको एमाले र कांग्रेसको सरकार हुँदा पनि जनताको साथ विना त्यसले राष्ट्रियताको सुरक्षा गर्न नसक्ने भन्दै जनतासँग जोडिनु पर्ने उनको भनाइ थियो । ‘अहिले जस्तो संकट देशमा कहिल्यै थिएन,’ उनले भने, ‘भदौ २४ गतेको विध्वंस हामीले देख्यौँ, सार्वभौमसत्ताका नागरिक यति कम्जोर, राज्य संयन्त्र यति कम्जोर भएको हो ? ति सबै विध्वंस जोगाउन नसक्ने अवस्था राज्य रहेको हो ? यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर आफै बदलिएर जनताका निम्ति जस्तो सुकै बलिदानी गर्न संकल्प लिएर अगाडि आएका हौं ।’
सभालाई सहसंयोजक माधवकुमार नेपाल, नेता बामदेव गौतम, भिम रावल, बर्षमान पुन, रेखा शर्मा, चिरण पुनलगायतले सम्बोधन गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
