सामाजिक उत्तरदायित्वमा सक्रिय सत्ती प्रहरी

सत्ती । सामाजिक उत्तदायित्व बमोजिम प्रहरी चौकी सत्तीका प्रहरीहरूले सत्ती बजार र खैरिपुरस्थित प्रहरी पोस्ट नजिकै व्यापक सरसफाइ अभियान संचालन गरेका छन्।
ऐतिहासिक पद्मप्रकाशेश्वर मन्दिरमा दर्शनार्थीहरूको दैनिक आवागमन र बजारको समग्र सौन्दर्यमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै चोक–चोकमा सरसफाइ गरिएको प्रहरी चौकी सत्तीका नयाँ इन्चार्ज, प्रहरी नायब निरीक्षक सुशील चन्द ठकुरीले जानकारी दिनुभयो। उहाँले सबै नागरिकहरू सरसफाइप्रति सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

अपराध अनुसन्धानमा दखल राख्ने ठकुरी अहिले सत्ती क्षेत्रमा सुरक्षाको जिम्मेवारी सम्हालिरहनु भएको छ। भारतसँग सीमा जोडिएको साबिक धनसिहंपुर र नारायणपुर क्षेत्र, खक्रौला भन्सारमार्ग हुँदै हुने सामग्री आवत–जावत, हुलाकी मार्गको चहल–पहल—यी सबै कारणले यो क्षेत्र सुरक्षा दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। त्यसैले प्रहरी सधैं सतर्क र जिम्मेवारीपूर्वक खटिने उहाँको प्रतिबद्धता छ।केही महिना अघि दिनदहाडै भएको चोरी र युवामाझ घटेको खुकुरी प्रकरणलाई आफूले गम्भीरतापूर्वक लिएको ठकुरीको भनाइ छ। अपराध नियन्त्रण र शान्ति–सुरक्षालाई सर्वोपरि राखेर प्रहरी सक्रिय रूपमा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो।
ऐतिहासिक पद्मप्रकाशेश्वर मन्दिर, पुरानो गल्ला मण्डीसहितको जीवन्त सत्ती बजार, बेतबाँसका लागि चिनिने सत्ती कर्णाली सामुदायिक वन, व्यस्त हुलाकी मार्ग र खक्रौला भन्सार—यी सबै कारणले सत्ती क्षेत्र सांस्कृतिक, आर्थिक र भौगोलिक रूपमा महत्वपूर्ण मानिन्छ।
सत्ती क्षेत्रको समृद्धि, सुरक्षा र सौन्दर्यका लागि प्रहरीको यस्तो पहल प्रेरणादायी बनेको छ, जसले नागरिक र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
