राष्ट्रिय निर्वाचन

म्यानमारमा मानव तस्करी गर्ने दुई पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

म्यानमारको स्क्यामिङ केन्द्रमा पुर्‍याई बन्धक बनाउने धन्दामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रन्जितकुमार महत्तो र मणिराज राई रहेका छन् । महत्तो ४७ जनाको टोलीसँगै उद्धार भई नेपाल फर्किएका थिए । उनैविरुद्ध जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । 

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले महत्तोलाई बुधबार र राईलाई बिहीबार पक्राउ गरेको हो । उनीहरूविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भएको छ । म्यानमारबाट उद्धार भई नेपाल फर्किएका पीडितको जाहेरीपछि ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले म्यानमारबाट उद्धार भई फर्किएका पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए । 

बिज्ञापन

उनले भने, ‘म्यानमारमा बन्धक बनाइएका ४७ जनाको बुधबार उद्धार भयो । उनीहरूसँगै महत्तो पनि नेपाल फर्किएका थिए । पीडितले उनीविरुद्ध समेत जाहरी दिए । सोही आधारमा पक्राउ गरेका हौँ । हालसम्म तीनवटा जाहेरी परेका छन् । अन्य पीडितको जाहेरी आउने क्रम जारी छ ।’

ब्युरोका अनुसार महत्तो र राईको टोलीले आइट र होटेलमा आकर्षक तलब हुने प्रलोभनमा नेपाली युवालाई गैरकानुनी ढंगले म्यानमार पुर्‍याएका थिए । भारत हुँदै थाइल्यान्डबाट म्यानमारको मेवाडी र केके–१ पार्क कम्पनीमा लगि उनीहरूले नेपाली युवालाई बेचिदिएका थिए । रोचक पक्ष के भने नेपाली युवा तस्करी गर्ने महत्तोलाई समेत तस्करले थाहै नदिई खरिद गरेका थिए । 

तस्करले उनीसहित सबै नेपाली युवालाई मेवाडी र केके–१ पार्क कम्पनीको कम्पाउन्डमा बन्धक बनाएका थिए । उनीहरूलाई तस्करले विभिन्न देशका युवायुवतीलाई स्क्याम गर्न तालिम दिने गरेका थिए । यस क्रममा कस्टमरलाई बिट क्वाइनमा लगानी गर्न प्रेरित गर्ने, लभ अफेयरमा फसाउने, घण्टौँ कुराकानी गर्नमा झुम्मिने, च्याट रिप्लाई गर्ने र उनीहरूलाई ट्र्यापमा पर्ने तालिम दिन्थे । त्यसपछि प्रत्येक युवालाई उनीहरू टार्गेट पूरा गर्न जिम्मा दिन्थे । टार्गेट पूरा नगर्नेहरूलाई भने शारीरिक थकान हुने सजाय दिने (पानीको जार बोकाई भर्‍याङमा तलमाथि गर्न लगाउने, कुट्ने, करेन्ट लगाउने, अँध्यारो कोठामा थुन्ने, भ्यागुता जम्प गर्न लगाउने) गर्थे । कम्पनीबाट बाहिरिन खोज्ने युवासँग आठ लाख रुपैयाँ माग्थे र, सोही बहानामा बन्धक बनाउँथे । यसरी बन्धक बनेका अझै धेरै युवा म्यानमार रहेको र उनीहरूको उद्धार गर्ने क्रम जारी गरेको ब्युरो प्रमुख एसएसपी पंगेनीले बताए । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारसँग समन्वय र सहयोगमा उद्धार गरी उनीहरूलाई (२६ जिल्लाका नागरिक) बुधबार नेपाल फर्किएका थिए । जसमध्ये ४५ पुरुष र दुई महिला छन् । म्यानमारमा अरू सयौँ नेपाली उद्धारको पर्खाइमा छन् ।

दूतावासका अनुसार उद्धार गरिएकामा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रेपलाञ्चोक, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुमका एक–एक, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका दुई–दुई, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन–तीन तथा झापाका पाँचजना छन् । दूतावासले जनाएअनुसार यीमध्ये एक १७ वर्षीय, २०–२५ वर्ष उमेर समूहका २६, २६–३० वर्ष उमेर समूहका १०, ३१–३५ वर्ष उमेर समूहका आठ, ४० वर्षका एक र ४१ वर्षका एकजना छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।