घटना

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भद्रपुर । “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ ।”

यो छोटो तर भावुक संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उनकी आमा लालमाया विश्वकर्माबीच भएको अन्तिम कुराकानी थियो । आमाको स्वास्थ्यलाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार आज परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ ।

बिज्ञापन

गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उहाँका सपना, योजना र परिवारका आशा सबै निभाइदियो । उक्त आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो । सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन निसास्सिएर ज्यान गुमाउनेमध्ये एक थिए ।

सविनको मृत्युको खबर परिवारका लागि अकल्पनीय थियो । बिहीबार दिउँसो मात्रै उहाँको शव झापा आइपुग्यो र शुक्रबार अन्त्येष्टि गरियो । “छोराको शव देखेपछि मात्र पत्याउन सक्यौँ”, सविनका बुबा टीकाराम विश्वकर्माले भारी मनले भने “नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो ।”

सविन टीकाराम र लालमायाका जेठा छोरा हुन् । उनले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गरेका थिए । सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार थिए ।

डिप्लोमा सकेपछि उनले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा छ महिना ‘इन्टर्नसिप’ गरेका थिए । त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गरे । “छोराले जे काम गरे पनि मन लगाएर गथ्र्यो”, आमा लालमाया सम्झिन्छन् “सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो ।”

त्यसपछि सविन ठूलीआमा (लालमायाको काकाकी छोरी) सँगै गोवाको एक होटलमा कामका लागि पुगे । केही समयपछि हाल कार्यरत नाइटक्लबमा सेफका रूपमा प्रवेश गरे र विगत छ महिनादेखि त्यहीँ कार्यरत थिए । कामको वातावरण, तलब र भविष्यप्रति उनि सन्तुष्ट थिए ।

घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुप कलमा सविनकी हजुरआमा पनि जोडिनुभएको थियो । “म काममा व्यस्त थिएँ”, लालमाया भन्छिन् “छोरालाई काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ ।”

एक घण्टापछि कोठामा पुगेपछि लालमायाले छोरालाई फोन गर्नुभयो । तर कल उठेन । “काममै व्यस्त होला भन्ने लाग्यो”, उनि भन्छिन् “तर सधँै बिहान सबेरै उठेर कल गर्ने छोराको फोन आएन । बरु भारतको सिलिगुडीबाट छोरा काम गर्ने ठाउँमा भएको आगलागीको खबर आफन्तले सुनाए । त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो ।” सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावहरूप लिएको थियो । उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक थिए ।

“उक्त ठाउँमा काम गर्दा मेरो छोरा निकै खुसी थियो”, लालमायाले आँखा भरिँदै भन्नुभयो, “तलब पनि राम्रै थियो, नियमित खर्च पठाइरहेकै थियो ।” सविनका बुबा टीकाराम विगत १८ वर्षदेखि वैदेशिक रोजगारीमा साउदी अरब, युएई हुँदै दुई वर्षदेखि मलेसियामा कार्यरत थिए । आमा लालमाया पनि विगत चार वर्षदेखि कुवेतमा काम गर्दै आउनुभएको थियो । दुवैजना छोराको शव घर आइपुगेकै दिन बिहीबार मात्रै नेपाल फर्किए ।

“घरको आर्थिक अवस्था कमजोर थियो”, लालमाया भन्छिन् “त्यसैले श्रीमान् विदेशमै रहनुभयो । म पनि घरको अवस्था केही उकास्न सकिन्छ कि भनेर कुवेत गएँ ।” उनका अनुसार सविनले होटल म्यानेजमेन्ट डिप्लोमा गरेपछि आफैँले रोजगारी खोज्दै भन्न थालेका थिए, “अब मलाई अगाडि पढाउनु महँगो पर्छ, म आफैँ कमाएर हजुरहरूलाई दुःख दिन्न ।”

सविनको कामप्रतिको इमानदारी देखेर नाइटक्लबका सञ्चालक पनि सन्तुष्ट थिए । “उसलाई अन्त जान नदिई यहीँ राख्ने सोच बनाएका रहेछन्”, बुबा टीकाराम बताउँछन्, “हामीसँग कुरा गर्दा पनि कहिल्यै काम गाह्रो भयो, दुःख छ भनेन, बरु साहुँले माया गर्नुहुन्छ भन्थ्यो ।”

सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ । उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा भद्रपुरमै हजुरआमाको रेखदेखमा छन् । दाइ कहिले फर्किन्छन् भनेर सोध्ने उनीहरूका प्रश्नको जवाफ कसैसँग छैन ।

भारतको केन्द्र सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रूपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रूपैयाँ राहत दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्मा (मामाको छोरा) ले जानकारी दिए ।

“गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थल ल्यायो”, उनले भने “त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म ल्याइदियो ।” आमाको स्वास्थ्यलाभका लागि मन्दिरमा पूजा गरेर फर्किएको छोरा अब कहिल्यै फर्किने छैन । सविन विश्वकर्माको कथा केवल एक दुर्घटनाको विवरण मात्र होइन, परदेशी श्रम, परिवारको जिम्मेवारी र अधुरै रहन पुगेका सपनाको कथा हो –जसले धेरै नेपाली युवाको यथार्थ बोलिरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।