सुशीला हत्या प्रकरण : नन्द मीनाले स्वीकार गरिन् ह,त्यामा आफ्नो संलग्नता

सिन्धुली कमलामाई नगरपालिका– ४ धुरा बजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्यामा उनकी नन्द मीना बम्जन संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । उनले प्रहरीसँगको बयानमा आफ्नो संलग्नता रहेको स्वीकार गरेकी छिन् ।
सुशीलाको गत ६ पुसको साँझ करिब ४ बजे धुरा बजारस्थित दुईतले घरको किचनमा पेट्रोल खन्याएर आगो लगाई हत्या गरिएको थियो । घटनालगत्तै प्रहरीले नन्द ३५ वर्षीया मीनासहित सासु मायारानी बम्जनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसवेलासम्म उनीहरूले घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका थिए । अनुसन्धानपछि भने मीनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘घटनालगत्तै मृतककी सासु मायारानी र नन्द मीनालाई पक्राउ गर्यौँ । विभिन्न कोणबाट अनुसन्धान सुरु भयो । तथ्य संकलन हुँदै गए । घटनामा प्रयोग भएको पेट्रोल मीनाले खरिद गरेको खुल्यो । हामीले उनीसँग बयान लियौँ । अहिलेसम्मको अनुसन्धानमा उनले घटना स्वीकार गरेकी छिन्,’ उनले भने ।

प्रहरीका अनुसार मीनाले घटना हुनु केही घन्टाअघि मात्रै नजिकैको बजारबाट प्लास्टिकको दुईवटा बोतलमा चार लिटर पेट्रोल किनेर ल्याएकी थिइन् । सात–सात वर्षीय दुई छोरा र छोरीलाई ट्युसन सेन्टरबाट घर ल्याएकी सुशीला किचेनमा प्रवेश गरेकी थिइन् । सोहीक्रममा मीनाले लुकाई राखिएको पेट्रोल सुशीलाको शरीरमा खन्याएकी थिइन् । आगो लगाएर बाहिर निस्केकी उनले किचेनको ढोका बन्द गरेकी थिइन् । सुशीला भने बन्द किचेनमा गुहार माग्दै थिइन् ।
सो दृश्य देख्न नसकेपछि प्यारालाइसिसबाट थलिएका सुशीलाका ससुरा दुर्गाबहादुर बम्जन ह्विलचियरमै गुडेर किचेनको ढोका खोल्न पुगेका थिए । जल्दै गरेकी सुशीला सोहीक्रममा बाहिर निस्केकी थिइन् । आगोको लप्काले दुर्गाबहादुरलाई पनि भेटेको थियो । सुशीलाका मामा सोनाम लामाका अनुसार उनको हातखुट्टामा गहिरो चोट लागेको छ ।
‘मीनाले सुशीलाको शरीरमा पेट्रोल खन्याएर आगो लगाइन् । जल्दै गरेकी भाउजुलाई किचेनमा थुनेर ढोका बन्द गरिन् । भित्र सुशीला जल्न थालिन् । पीडाले उनीभित्रै छटपटाउन थालिन् । यहीक्रममा बन्द ढोका खोल्न सुशीलाको ससुरा किचेन पुगे । ढोका खोलेलगत्तै सुशीला बाहिर निस्किइन् । यही क्रममा ससुराको ह्विलचियरमा अल्झिन पुगिन् । दुर्गाबहादुरको शरीरमा चोट लागेको सोहीकारण हो,’ उनले भने ।
मामा सोनामका अनुसार सुशीलाका श्रीमान् सूर्यबहादुर बम्जन वैदेशिक रोजगारका लागि दक्षिण कोरियामा छन् । उनीहरूको ०६७ मा मागी विवाह भएको हो । विवाह भएकै केही महिनामै दुईबिच खटपट सुरु भएको थियो । विवाद बढ्दै गएपछि उनले सुशीलालाई निर्घात कुटपिट गर्दै आएका थिए । दक्षिण कोरिया गएपछि पनि दुईबिचको सम्बन्ध राम्रो थिएन । सासु र ससुराले पनि सुशीलालाई दैनिक टोकस गर्दै आएका थिए । सम्बन्धविच्छेदपछि माइतमै बस्दै आएकी नन्द मीनाले उनलाई अझ धेरै तनाव दिने गर्थिन् । घटनाको दिन पनि सुशीलालाई मीनाले बिहानैदेखि मारिदिने धम्की दिएकी थिइन् । डराएकी उनले आफ्नो पीडा बहिनीलाई टेलिफोन गरी सुनाइन् । बहिनीको ढाडसपछि मात्रै ट्युसनबाट फर्किएका छोराछोरीसँगै उनी घर प्रवेश गरेकी थिइन् । त्यहीक्रममा उनीमाथि मीनाले पेट्रोल खन्याएर आगो लगाइन् । चोटका कारण उनको घटनास्थलमै मृत्यु भयो ।
प्रहरीका अनुसार सुशीला घर प्रवेश गरेलगत्तै मीनाले घरको मूलगेटमा ताला ठोकेर बन्द गरेकी थिइन् । ढोकाको च्यानल गेटमा पनि उनले साँचो लगाएकी थिइन् । घरमा निर्माण कार्य चल्दै थियो । घटनाका दिन मीनाले कामदारलाई समेत काममा नआउन भनेकी थिइन् । ‘हालसम्मको अनुसन्धानमा घटनामा मीनाकै संलग्नता भएजस्तो देखिन्छ । नन्द–भाउजुबिचको इगो नै घटनाको मुख्य कारण रहेको जस्तो देखिन्छ,’ एसपी सुवेदीले भने । सुशीलाको शव ६ दिनदेखि सिन्धुली अस्पतालमै छ । माइती पक्षले सुशीलाका पति सूर्यबहादुरलाई दक्षिण कोरियाबाट झिकाउनुपर्ने र तीन सन्तान (बालबालिका)का नाममा पैतृक सम्पत्ति नआएसम्म शव नबुझ्ने अडान राखेको हो ।
साभार : नयाँ पत्रिका
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
