गुरुङ समुदायले उल्लासका साथ आज ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं । आज तमु ल्होसार पर्व देशभरका गुरुङ समुदायले परम्परागत विधि, सांस्कृतिक कार्यक्रम र सामूहिक उत्सवका साथ भव्य रूपमा मनाइरहेका छन् । प्रत्येक वर्ष पुस १५ गते पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने परम्पराअनुसार गुरुङ समुदायले यो पर्व मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भन्ने भएकाले वर्ग परिवर्तन हुने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु (गुरुङ) संस्कृतिअनुसार ल्होसार नयाँ चक्रको प्रारम्भका रूपमा लिइन्छ । यस दिनदेखि गुरुङ समुदायमा नयाँ वर्ष सुरु हुने विश्वास गरिन्छ ।
तमु संस्कृतिअनुसार पुस १५ गते खुसी साटासाट गर्दै सामूहिक भोज, सांस्कृतिक कार्यक्रम, परम्परागत नाचगान र भेषभूषासहित ल्होसार मनाइन्छ । घरघरमा विशेष परिकार बनाइने, आफन्तजन भेला हुने तथा मान्यजनबाट आशीर्वाद लिने परम्परा रहेको छ । ल्होसारको अवसरमा आपसी मेलमिलाप र सामाजिक एकताको सन्देश प्रवाह हुने गर्दछ ।

गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व विशेष उत्साहका साथ मनाइँदै छ । यी जिल्लाहरूमा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नृत्य र ¥याली आयोजना गरिएका छन् । यसै अवसरमा आज काठमाडौंको टुँडिखेलमा पनि गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।
तमु ल्होसार सूर्यको किरण र ऋतु परिवर्तनसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेको पहाडी भू–भागमा सूर्यको ताप चाँडै पर्ने भएकाले पुस १५ गते ल्होसार मनाउन थालिएको जनविश्वास रहेको छ । यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोवास भएको क्षेत्रमा सूर्यको ताप क्रमशः आउने भएकाले उनीहरूले माघ र फागुन महिनामा ल्होसार मनाउन थालेको विश्वास गरिन्छ ।
प्रत्येक वर्ष ल्होसारका अवसरमा गुरुङ समुदायमा नयाँ आशा, सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरिन्छ । साथै, प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने विश्वासका आधारमा मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेललाई वर्षका प्रतीकका रूपमा मानिन्छ ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/12/407501/
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
