आगामी धान सिजनलाई रासायनिक मल बजेट पक्का, सवा २० अर्ब स्रोत सहमति

१४ पुस, काठमाडौं । सरकारले आगामी धान सिजनमा हुन सक्ने रासायनिक मल अभाव सम्बोधन गर्न स्रोत सहमति मार्फत बजेट सुनिश्चित गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले २० अर्ब २७ करोड रुपैयाँको स्रोत सहमति दिएको हो ।

कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार यो रकम आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट व्यवस्थापन गर्ने गरी हाललाई खरिद प्रक्रिया अघि बढाउन अनुमति दिइएको हो ।
सरकारले चालु आव २०८२/८३ का लागि रासायनिक मल आयात गर्न २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबर बजेट छुट्याएको र त्यही बजेटबाट ६ लाख टन मल आयात गर्ने लक्ष्य छ ।
चालु आव पर्याप्त मल खरिद गर्न बजेट अभाव भएपछि १० अर्ब थप आवश्यक पर्ने भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो ।
‘तत्काल बजेट विनियोजन गर्न सक्ने अवस्था नभएकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत दिने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ,’ सहसचिव श्रेष्ठले अनलाइनखबरसँग भने, ‘बजेट आगामी वर्षमै आउने भए पनि यसबाट मल आयात टेन्डर गर्न मिल्छ ।’
सहसचिव श्रेष्ठले रासायनिक मल खरिद प्रक्रिया लामो र झन्झटिलो हुने भएकाले समयमै तयारी थाल्नुपर्ने बताए ।
‘मल खरिद गरेर ल्याउन झन्डै २ सय २५ देखि २ सय ३० दिन (करिब सात–आठ महिना) लाग्छ,’ उनले भने, ‘अहिले खरिद प्रक्रिया सुरु नगरे साउन–भदौको धान सिजनमा मल पुर्याउन सकिँदैन, त्यसैले साउनमा आउने अर्को वर्षको बजेटबाट भुक्तानी गर्ने गरी अहिले नै टेन्डर प्रक्रिया अघि बढाउन लागिएको हो ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
