सञ्चालनमा आयो दुई सय बेडको बाल अस्पताल

सरकारी शुल्कमै बालबालिकाको जटिल रोगको उपचार, कान्ति बाल अस्पतालको भिड घट्ने अपेक्षा
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल सञ्चालनमा आएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ७ मा दुई सय शय्याको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) सञ्चालनमा आएको हो ।
आइतबारदेखि ओपिडी सेवा सुरु गरेको अस्पताल सामुदायिक अस्पतालमा रूपमा छ । सरकार, विभिन्न संघसंस्था, दातृनिकाय, समुदायलगायतको आर्थिक सहायतामा सञ्चालनमा आएको अस्पतालले कान्ति बाल अस्पतालकै शुल्कमा उपचार सेवा दिन थालेको छ । अस्पतालले ओपिडी टिकटमा नयाँ बिरामीलाई दुई सय र पुरानोलाई एक सय रुपैयाँ शुल्क तोकेको छ । अन्य ल्याब तथा जाँचमा पनि कान्तिमा भन्दा सस्तोमा सेवाप्रवाह गर्ने अस्पतालको दाबी छ ।

अस्पतालले दैनिक बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन गरेको छ । बिरामीको भिड बढ्दै गएमा समय थप गरिनेछ । ‘अस्पताल खोलिनुको मुख्य कारण सबै किसिमका बालरोगहरूको एकै छानामुनि उपचार होस्, अभिभावक बालबालिकाको उपचार नपाएर भौतारिन नपरोस् भन्ने नै हो,’ संस्थापक डा. भगवान कोइरालाले भने, ‘हाम्रो उद्देश्य भनेको नसक्नेलाई पनि राम्रो उपचार सेवा दिनुपर्छ, काठमाडौंमा केन्द्रीय अस्पताल र त्यसको पहुँच काठमाडौंबाहिर पुर्याउनुपर्छ भन्ने हो । त्यसका लागि काठमाडौंबाहिर स्याटेलाइट सेन्टर स्थापना हुन्छ । मोफसलमा बालबालिकाको उपचार सेवा निकै कमजोर छ, त्यसलाई सहज पार्न हामीले यो अवधारणा ल्याएका हौँ ।’ उपत्यकाबाहिर सबैजसो प्रदेशमा ५० देखि सय शय्याको अस्पताल निर्माण हुनेछ । अस्पतालमा एनआइसियू बेड संख्या २८ र पिआइसियू बेड संख्या सातवटा छन् । पहिलो चरणमा सीमित बेडहरू सञ्चालनमा ल्याए पनि बिरामी संख्या बढ्नेबित्तिकै ६० बेडमा पुर्याइनेछ । तीनवटा ब्लक रहेको अस्पतालले पहिलो चरणमा दुई सय बेड सञ्चालन गरेको छ । थप दुई सय बेडका लागि स्पेस तयार रहेकाले बेड संख्या चार सय पुर्याइने भएको छ । बिरामीको संख्या बढेपछि आवश्यक उपकरण र पूर्वाधार जडान गरिनेछ । अस्पतालले एक्स–रे, इसिजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणसहित बाल परामर्श सेवाप्रवाह गर्नेछ । डा. कोइरालाको नेतृत्वमै दमकमा पनि यस्तै प्रकारको अस्पताल गर्त वर्षदेखि सञ्चालनमा आइसकेको छ । त्यहाँ पनि सरकारीसरह शुल्कमै उपचार सेवा दिने गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
