काठमाडौंका होटलमा कारमार्फत युवती सप्लाइको धन्दा

१५ पुस, काठमाडौं । काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाई गर्ने धन्दा फस्टाएको पाइएको छ । प्रहरीले युवती सप्लाई गर्ने समूहका एक व्यक्तिलाई पक्राउ गरी तीन सातादेखि गोप्य रूपमा अनुसन्धान गरिरहेको छ ।
आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पुर्याउने र मोटो रकम असुल्ने समूह सक्रिय रहेको भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

आफ्नै कारमार्फत होटल-होटलमा युवती सप्लाई गर्ने एक युवालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । दोलखाको मेलुङ गाउँपालिका-१ पवटी घर भई बुढानलीकण्ठ नगरपालिका-६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की नाम गरेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रहरी उपरीक्षक) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनका अनुसार कार्कीलाई २० मंसिरमा वृत्त गौशालाले सरस्वतीनगरबाट पक्राउ गरेको हो ।
उनीमाथि अहिले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ । त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुनेछ ।
कार्कीले ठमेल, गौशाला, गोंगबु तथा एअरपोर्ट अगाडिका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए । कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिदेखि होटलकै स्टाफहरूसँग सम्पर्क गर्ने गरेको एक अनुसन्धान अधिकृतले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
