भारतको हरियाणा पुर्याइएका पाँच नेपाली बन्धक, एक बेपत्ता

आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर भारत लैजाने ठेकेदार र उनका सहयोगी फरार
ठेकेदारले सेलर मिलमा काम लगाइदिने भन्दै भारतको हरियाणा करनाल पुर्याएका सर्लाहीका सातजनामध्ये पाँच मजदुलाई बन्धक बनाइएको परिवारजनको आरोप छ । सिराहाको कल्याणपुर नगरपालिका– ४ जमुवा टोलका ४६ वर्षीय राम सदा, वडा नम्बर ५ का २५ वर्षीय रञ्जित सदा, ३३ वर्षीय सिकिन्दर भनिने इन्दल सदा, ४३ वर्षीय उपेन्द्र सदा र वडा नम्बर ८ बड्कीटोलका ३५ वर्षीय रामकुमार पासवानलाई बन्धक बनाएर भारी बोक्ने काममा जोताइरहेको पीडित परिवारले बताएका छन् ।
स्तीका करिब २५ वर्षीय गणेश सदालाई भने उतै बेपत्ता बनाइएको उनकी श्रीमती उर्मिलादेवी सदाले बताइन् । ‘पछिल्लो चार महिनादेखि न श्रीमान्सँग फोनमा कुरा भएको छ न त एक रुपैयाँ पठाएका छन्,’ उनले भनिन् ।

सुखीपुर नगरपालिका– ९ मोहनपुर वैसखा गाउँका श्रीदेव भनिने देव यादव र उनका सहयोगी धनुषाको सबैला पटेर्वा घर भई गोलबजार बस्दै आएका बसिर मियाँले करनालको सेलर मिलमा पाँचजनालाई बन्धक बनाएर काम गराइरहेको महिना दिनअघि भागेर घर फर्किएका ३३ वर्षीय ब्रह्म मुखियाले बताए । ‘२५ किलोदेखि ७० किलोसम्म धान, चामल, कनिका प्याक गरिएको गह्रौं बोरा ठूल्ठूला ट्रकमा लोड अनलोड गर्नुपथ्र्यो,’ उनले भने ‘त्यति गह्रौ काम गराएर खानामा सोयाविन र आलुको झोल र भातबाहेक केही दिँदैनथे ।’ काम गर्न नसक्दा कोठामा थुनेर निरन्तर कुटपिट गर्ने उनले बताए । ‘ठेकेदार र उनका सहयोगी घुम्न बजारतिर गएको मौका छोपेर महिना दिन अघि भागेर घर फर्किएँ,’ उनले भने ।
करनालबाट फर्किएर मुसहर बस्तीस्थित छोरीको घरमा बसिरहेका करिब ५१ वर्षीय सिटहु सदाले आफूहरूलाई दिनरात काममा लगाउने गरेको बताए । ‘समयमा खान, आराम गर्नसमेत दिँदैनथे’ उनले भने ‘खाना, आराम र पारिश्रमिकको कुरा गर्यो भने कोठामा थुनेर निर्घात कुटिहाल्थे ।’
ठेकेदार यादव र उनका सहयोगी मियाँ पछिल्लो दसैँलगत्तै बस्तीमा पुगेका थिए । त्यतिखेर उनले राम्रो कमाइ हुन्छ भन्दै मासिक भारतीय १० हजार रुपैयाँ तलब दिनेगरी मुसहर बस्तीका ब्रह्म, इन्दल, उपेन्द्र, रंजित, गणेश, बड्की टोलका रामकुमार र जमुवाका रामलाई भारत लगेका थिए । ‘गाउँबाट लगिएकामध्ये ब्रहम भागेर घर फर्किएको र गणेशबाहेक पाँचजनालाई बन्धक बनाएर काममा जोताइरहेको थाहा पाएका छौँ,’ उनले भने ‘चार महिनासम्म परिवारसँग दोहोरो कुराकानी भएको छैन ।’ उनका अनुसार ठेकेदार र उनका सहयोगी सम्पर्कविहीन भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
