सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर सिन्धुली एसबिआई बैंकबाट तीन करोड सात लाख लुटपाट

जिल्लाको घ्याङलेक गाउँपालिकामा रहेको एसबिआई बैंकमा लुटपाट भएको छ । हतियारसहित आएको लुटेरा समूहले बैंकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरेको प्रहरीले बताएको छ । बैंकबाट लुटेरा समूहले करिब तीन करोड सात लाख रुपैयाँ लगेको बताइएको छ ।
लुटपाटमा भएको केही रकम र लुटपाटमा प्रयोग गरिएको सवारीसाधन स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको घ्याङलेक गाउँपालिका– २ का वडाध्यक्ष रोशन भ्लोनले जानकारी दिए । लुटपाटमा प्रयोग भएको सवारीसाधन गाउँपालिकाको वडा नम्बर १ मा पर्ने टुनिभञ्ज्याङ १ बाट नियन्त्रणमा लिएको भए पनि लुटपाटमा संलग्न कसैलाई पनि फेला पार्न नसकिएको उनले बताए ।

लुटिएको केही रकमसमेत फेला पारेको उनले बताए । बोरामा फेला परेको र कति रकम छ भन्ने यकिन भन्न सक्ने अवस्था नभएको उनले बताए । लुटपाटमा प्रयोग गरिएको बिएडी ०३९८ नम्बको इम्बोस्ड नम्बर प्लेटको गाडी नियन्त्रणमा लिन सफल भएको वडाध्यक्ष भ्लोनले बताए । सयौँको संख्यामा स्थानीय र प्रहरीले त्यस क्षेत्रको वन क्षेत्रमा लुटेराहरूको खोजीकार्य जारी राखेको उनले बताए।
हतियारसहित आएको लुटेरा समूहले बैंकका कर्मचारी र सुरक्षागार्डलाई हातखुट्टा बाँधी पेस्तोल देखाएर लुटपाट गरेको बैंकका कर्मचारीहरूको भनाइ उदृत गर्दै वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भ्लोनले बताए । नियन्त्रणमा लिएको सवारीसाधन र पैसा भने इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ ।
साँझ साढे ७ बजेतिर बैंकमा लुटपाट भएको उनले बताए । बैंक गाउँपालिकाको सदरमुकाम बस्तीपुरमा रहेको छ भने बैंकबाट इलाका प्रहरी कार्यालयको दूरी करिब दुई सय मिटर आसपासमा रहेको छ । प्रहरीले घटनाको विस्तृत विवरण आइनसकेको बताएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
