मध्यरातमा सौतेनी आमाको ज्यान लिएर छोरा फरार

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक व्यक्तिले आफ्नै सौतेनी आमाको हँसिया प्रहार गरी हत्या गरेका छन् । दोधाराचाँदनी नगरपालिका-४, मान्या चौराह निवासी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्दा श्रेष्ठको हत्या गरेका हुन् ।
हरिप्रसादले वृद्ध आमामाथि धारिलो हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट गम्भीर घाइते भएकी बिन्दाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

आक्रमणको क्रममा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठसमेत घाइते भएकी छन् । उनलाई जोगाउन खोज्दा वा आक्रमणको चपेटामा पर्दा चोट लागेको प्रहरीको अनुमान छ । घाइते भगवतीदेवीको हाल दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
घटना लगत्तै आरोपित हरिप्रसाद श्रेष्ठ फरार भएका छन् । प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । फरार अभियुक्तको खोजीका लागि जिल्ला र मातहतका प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरिएको डीएसपी शाहीले बताए । घरायसी रिसिइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
