सावधान ! टीकापुरमा कुकुरको टोकाइ बढ्दो, दैनिक ६०–७० बिरामी अस्पतालमा

टीकापुर, ९ चैत । सावधान ! टीकापुरमा अहिले कुकुरको टोकाइ बढ्दो अवस्थामा रहेको छ।
सुन्दा अचम्म नलाग्ला, तर यो कुरा सत्य नै हो। यसको सत्यता बुझ्न चाहनुहुन्छ भने टीकापुर अस्पतालमा गएर बुझ्न सक्नुहुन्छ। अस्पतालको कोठा नं. १९ मा जानुहुन्छ भने त्यहाँ कुकुरले टोकेका बिरामीहरूलाई सुई लगाउनेहरूको भिड देख्न सकिन्छ। मानिसहरू बिहानदेखि नै लाइन लागेका पाइन्छन्।
बलभद्र चोकमा ल्याब सञ्चालन गरेर बसेका एक जना भन्छन्, “म बेलुका घर जाने क्रममा कुकुरले दौडेर खुट्टामा टोकेको थियो।” यस्ता घटनाहरू सुनाउने धेरै छन्। स-साना बच्चादेखि वृद्धसम्मका मानिसहरू लाइनमा लागेको पाइन्छ।


कोल्ड स्टोरका इन्चार्जका अनुसार, त्यहाँ कुकुरले टोकेका बिरामीहरू सुई लगाउन दैनिक ६० देखि ७० जना आउने गरेका छन्। सुईको व्यवस्था प्रदेश अस्पताल धनगढीले गर्ने गरेको भए पनि कहिलेकाहीँ भ्याक्सिन सकिँदा बिरामीहरूले दुःख पाउने गरेको उनको भनाइ छ।
कटानपुरका रामबहादुर चौधरी एक हप्तादेखि सुई लगाउन कोल्ड स्टोरमा आउने गरेका छन्। तर बीचमा भ्याक्सिन सकिँदा उनले समस्या भोग्नुपरेको गुनासो गर्छन्। उनी भन्छन्, “मलाई यसको बारेमा केही थाहा थिएन, बाहिरबाट किनेर ल्याउनु पर्ने रहेछ। बाहिरका मेडिकल स्टोरमा जाँदा पनि सजिलै पाइएन, धेरै ठाउँमा खोजेपछि बल्ल भेटाएँ।”
मेडिकल स्टोरमा किन्नुपर्दा भ्याक्सिनको मूल्य ६५० रुपैयाँ पर्ने र एक्लै लगाउँदा महँगो पर्छ। यदि दुई जनाले मिलेर लगाए केही सस्तो पर्न जान्छ। कुकुरले टोकेमा ४–४ दिनको फरकमा ३ पटक सुई लगाउनु पर्ने हुन्छ।
स्थानीय निकायले पनि छाडा कुकुर नियन्त्रणमा ध्यान दिनु आवश्यक छ। कुकुरलाई कसरी नियन्त्रण गर्ने र टोकेपछि उपचारका लागि आवश्यक औषधि तथा भ्याक्सिन समयमै उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। साथै, कुकुरको बन्ध्याकरण गरेर यसको संख्या वृद्धि नियन्त्रण गर्न सकिन्छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु अत्यन्त आवश्यक देखिन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.