घटना

एकै दिन दुई युवा गुमाउँदा शोकमा बझाङको केदारस्यूँ, गाउँपालिकाभरि पीडा र स्तब्धता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ , ३ असार । केदारस्यूँ गाउँपालिकाका लागि आइतबारको दिन अत्यन्त दुःखद बनेको छ। गाउँपालिकाका दुई युवा सन्तानको असामयिक निधनको खबरले स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरलाई स्तब्ध बनाएको छ। एउटै दिन दुई फरक स्थानबाट आएका दुःखद समाचारले सिंगो गाउँपालिका नै शोकमग्न बनेको छ।

केदारस्यूँ गाउँपालिका–७, जसुडाकी २३ वर्षीया अनिशा धामी खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत थिइन्। सेवाभाव र मेहनतका साथ स्वास्थ्य क्षेत्रमा सक्रिय रहेकी उनी आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेको खबर सार्वजनिक भएपछि परिवार तथा गाउँमा शोक छाएको छ। स्वास्थ्य सेवा क्षेत्रमा भविष्य निर्माण गर्दै स्थानीय समुदायको सेवामा समर्पित रहेकी युवतीको असामयिक निधनले सबैलाई मर्माहत बनाएको छ।

बिज्ञापन

त्यस्तै, केदारस्यूँ गाउँपालिका–६, गाजरीका २४ वर्षीय दीपक धामीको पनि जापानमा निधन भएको खबर आएको छ। अध्ययनसँगै रोजगारीको अवसर खोज्दै केही समयअघि मात्र जापान पुगेका दीपक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जनाइएको छ। उनको मृत्युको कारणबारे आधिकारिक जानकारी आउन बाँकी रहेको छ।

परिवारका सदस्यहरूका अनुसार दीपक उज्ज्वल भविष्यको सपना बोकेर विदेशिएका थिए। तर अकस्मात् आएको दुःखद खबरले परिवारलाई गहिरो पीडामा डुबाएको छ। आर्थिक अवस्था कमजोर भएकाले उनको शव नेपाल ल्याउने प्रक्रिया समेत चुनौतीपूर्ण बनेको बताइएको छ।

स्थानीयवासीहरूका अनुसार अनिशा र दीपक दुवै आफ्नो परिवारका आशा र भरोसाका केन्द्र थिए। एक जना स्वास्थ्य सेवामार्फत समाजको सेवा गर्ने अभियानमा थिइन् भने अर्का युवा विदेशमा संघर्ष गर्दै आफ्नो र परिवारको भविष्य निर्माण गर्ने यात्रामा थिए। तर नियतिले दुवैको यात्रा अकालमै रोकिदिएको छ।

दुई युवा जीवनको एकै दिन अन्त्य भएको खबरले केदारस्यूँ गाउँपालिकाभरि शोकको वातावरण सिर्जना भएको छ। सामाजिक सञ्जालदेखि गाउँघरका चौतारासम्म उनीहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ।

स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सम्बन्धित निकायसँग घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गरेका छन्।

एकै दिन दुई होनहार युवा गुमाउनु केवल दुई परिवारको पीडा मात्र नभई गाउँपालिकाका लागि पनि अपूरणीय क्षति बनेको स्थानीयवासीहरूको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।