टीकापुर नगरपालिकाको १९औं नगरसभा सम्पन्न, १ अर्ब ३ करोड ६७ लाखभन्दा बढीको बजेट तथा नीति–कार्यक्रम पारित

टीकापुर, १७ असार । टीकापुर नगरपालिकाको १९औं नगरसभामा १ अर्ब ३ करोड ६७ लाखभन्दा बढीको बजेट तथा नीति–कार्यक्रम पारित गरिएको छ । टीकापुर नगरपालिकाको १९औँ नगरसभा ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा सभा अध्यक्षको आदेशअनुसार वडा नम्बर १ का वडाअध्यक्ष मोहन विकले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, डिजिटल अर्थतन्त्र तथा समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

उहाँले रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा श्रम र रोजगारसम्बन्धी सम्पूर्ण सेवा एकीकृत रूपमा प्रवाह गर्न नगरपालिकामा रोजगार, सीप तथा उद्यमशीलता केन्द्र स्थापना गरिने बताउनुभयो। स्थानीय उत्पादनमा आधारित उद्योग–व्यवसायको विकास तथा प्रवर्द्धनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनुका साथै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो।

कृषि क्षेत्रतर्फ व्यवसायीकरण र आधुनिकीकरणमार्फत किसानको आयस्तर वृद्धि गर्ने लक्ष्यसहित व्यावसायिक कृषि प्रणालीको विकास तथा विस्तारमा जोड दिइने नीति लिइएको छ। रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक कृषि उत्पादनलाई प्राथमिकता दिइने तथा नगरपालिकाको सम्भाव्यता र विशेषताअनुसार नगदे बालीको व्यावसायिक उत्पादन प्रवर्द्धन गरिने नीति प्रस्तुत गरिएको छ।
पर्यटन विकासका लागि नगरभित्र रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान गरी गुरुयोजना तयार गरिने बताइएको छ। साथै टीकापुर पार्कको उत्तरदेखि मूलपानीसम्मको नालालाई माछापोखरीका रूपमा विकास गरी पर्यटकीय केन्द्र बनाउने, पानीमा आधारित खेलकुद तथा मनोरञ्जनका गतिविधि सञ्चालन गर्न थप अध्ययन गरिने र डल्फिन संरक्षणका लागि आवश्यक प्रचारप्रसार गरिने जानकारी दिइयो।
सामाजिक विकासतर्फ सबै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सघन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने, निःशुल्क आधारभूत शिक्षाको संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने तथा सामुदायिक विद्यालयलाई सञ्चालन, निजी शिक्षक र कर्मचारी व्यवस्थापनका लागि दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै वृद्धि गरिने नीति सार्वजनिक गरिएको छ। नगर शिक्षकको सेवा–सुविधालाई समयसापेक्ष बनाइने तथा कक्षा ८ सहित अन्य कक्षाको नगरस्तरीय परीक्षा सञ्चालन गरी मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाइने जनाइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ सिकल सेल सेवालाई आधारभूत स्वास्थ्य सेवामा समावेश गर्दै रोगको पहिचान तथा निदानका लागि सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकल सेल केन्द्रलाई थप स्रोतसाधन सम्पन्न र व्यवस्थित बनाइने नीति अघि सारिएको छ।
पूर्वाधार विकासअन्तर्गत वातावरणमैत्री सडक निर्माण, सडक सुरक्षामा सुधार तथा जनसहभागितामूलक विकासलाई निरन्तरता दिइने भएको छ। सडक आयोजनामा ८०:२० र अन्य पूर्वाधार आयोजनामा ८५:१५ को लागत साझेदारी अनुपात आगामी आर्थिक वर्षमा पनि कायम रहने जनाइएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ वनको वैज्ञानिक व्यवस्थापन र उपयोगमा जोड दिइने, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने तथा संस्थागत साझेदारीमार्फत विपद् व्यवस्थापन कोष र सामग्रीलाई थप सुदृढ बनाइने नीति प्रस्तुत गरिएको छ। विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइने बताइएको छ।
नगरसभा सदस्य दीपक चौधरीले टीकापुर नगरपालिकाको आर्थिक ऐन, २०८३ प्रस्तुत गर्दै स्थानीय कर तथा शुल्क संकलन, कर घटाउने–बढाउने, छुट दिने तथा राजस्व प्रशासनसम्बन्धी कानुनी व्यवस्था गर्न ऐन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार संविधानको धारा २८८ को उपधारा (२) बमोजिम नगरसभाले उक्त ऐन पारित गरेको हो। ऐन आगामी साउन १ गतेदेखि लागू हुनेछ।
आर्थिक ऐनअन्तर्गत भूमिकर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, जडीबुटी, कबाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल तथा बिटौरी शुल्क, पार्किङ शुल्क, र्याफ्टिङ शुल्क, सेवा शुल्क, दस्तुर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय, पर्यटन शुल्क, कृषि तथा पशुजन्य कार्यमा लाग्ने कर, प्राकृतिक स्रोत साधन बिक्री कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सामुदायिक वनबाट प्राप्त आय, दण्ड–जरिवाना तथा कर फिर्तासम्बन्धी व्यवस्था समावेश गरिएको छ। उक्त आर्थिक ऐन नगरसभाको बहुमतबाट पारित गरिएको थियो।
नगरसभा सदस्य तथा वडा नम्बर ८ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक सभासमक्ष प्रस्तुत गर्नुभएको थियो। विधेयक प्रस्तुत गर्दै उहाँले आगामी आर्थिक वर्षका लागि चालु, पुँजीगत तथा वित्तीय व्यवस्थासहित कुल १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १०० रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार विनियोजन विधेयकमार्फत नगरपालिकाले सञ्चालन गर्ने विभिन्न विकास आयोजना, सेवा प्रवाह, प्रशासनिक खर्च तथा वित्तीय व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। प्रस्तुत विधेयकमाथि नगरसभा सदस्यहरूबीच आवश्यक छलफल सम्पन्न भएपछि उक्त विनियोजन विधेयक नगरसभाको बहुमतबाट पारित गरिएको थियो।

त्यस्तै नगरसभाका सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालवीर चौधरीले नगरसभामा विभिन्न विषयगत समिति तथा विविध विषयसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले सम्बन्धित समितिहरूद्वारा आर्थिक वर्षभरि सम्पादन गरिएका कार्य, उपलब्धि, आगामी कार्ययोजना तथा नगरपालिकाको समग्र विकाससँग सम्बन्धित विषयवस्तु समेटिएका प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो।
प्रस्तुत प्रतिवेदनमाथि नगरसभा सदस्यहरूबीच आवश्यक छलफलसमेत भएको थियो। छलफलका क्रममा उठेका सुझाव तथा जिज्ञासामाथि आवश्यक स्पष्टिकरणपछि विभिन्न समिति तथा विविध विषयका प्रतिवेदन नगरसभाको बहुमतबाट पारित गरिएको थियो।
नगरसभाको समसामयिक विषयमाथिको छलफलका क्रममा नगरसभा सदस्य कमलादेवी विकले कार्यवाहक नगर प्रमुख रामनगरजीसँग सम्बन्धित विषय उठाउँदै देउडा गीतमार्फत नगरपालिकामा नगर प्रमुखको पदसँग जोडिएका घटनाक्रमप्रति व्यङ्ग्य गर्नुभएको थियो।
त्यसैगरी नगरसभा सदस्य तुलसा देवी विकले दलित समुदायमाथि भइरहेको थिचोमिचो र विभेद अस्वीकार्य रहेको बताउनुभयो। उहाँले कार्यवाहक नगर प्रमुख रामनगरजी बहुमतमा हुँदाहुँदै पनि दलित भएकै कारण विभिन्न जालझेल गरी पदबाट हटाइएको आरोप लगाउनुभयो। उहाँले दलित समुदायमाथि हुने विभेद र अन्यायको अन्त्य हुनुपर्नेमा जोड दिँदै यस विषयमा निष्पक्ष ढंगले न्याय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.