‘बाबा, म बेलुकासम्म घर पुग्छु…’ : सेनामा भर्ती हुने सपना बोकेकी सिर्जनाको कर्णालीमा दुर्घटनापछि मृत्यु

कालिकोट ।“बाबा, म बेलुकासम्म घर पुग्छु…” यही शब्द बोलेर घरका लागि हिँडेकी कालिकोटको रास्कोट नगरपालिका–२ की १९ वर्षीया सिर्जना खड्का अब कहिल्यै घर फर्किन सकिनन्।

नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने सपना बोकेकी सिर्जनाले जवान पदको बेरिङ परीक्षा उत्तीर्ण गरिसकेकी थिइन्। घरमा धान रोपाइँको बेला आमाबुवालाई सघाउन फर्किँदै गर्दा कर्णाली नदीमा भएको दुर्घटनाले उनको जीवन असमयमै अन्त्य गरिदियो।

परिवारका अनुसार सिर्जनाले घर निस्कनुअघि बुवासँग फोनमा “बेलुकासम्म घर पुग्छु” भनेर खबर गरेकी थिइन्। तर उनको त्यो वाचा पूरा हुन सकेन। दुर्घटनामा परेपछि उनको मृत्यु भएको खबरले परिवार शोकमा डुबेको छ।

आफ्नी छोरीको प्रतीक्षामा बसेका बुवाआमाले अन्ततः उनको शव मात्रै देख्नुपर्यो। सिर्जनाको असामयिक निधनले परिवारमात्र होइन, देशले पनि भविष्यमा नेपाली सेनामा सेवा गर्न सक्ने एक सम्भावित सैनिक गुमाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने सिर्जनाको सपना अधुरै बनेको छ।


